अर्थतन्त्र सुधार्न पर्यटनलाई जोड दिऊँ

मंगलबार, ०२ बैशाख २०८२, १३ : ४६

काठमाडौं - नेपाल दुई ठूला मुलुकको बीचमा अवस्थित छ । यी छिमेकीहरु आकारमा मात्र ठूला छैनन् । जनसंख्या पनि सबैभन्दा धेरै भएका मुलुकमा पर्दछन् । नेपालको अर्थतन्त्रमा यी दुई छिमेकीको महत्वपूर्ण भूमिका हुन्छ नै । नेपालमा उनीहरुले प्रत्यक्ष आर्थिक लगानी मात्र हैन अन्य क्षेत्रमा पनि सहयोग गर्न सक्छन् । नेपाल उनीहरुको लागि राम्रो पर्यटन गन्तब्य बन्न सक्छ । नेपाललाई उनीहरुको पहिलो रोजाईको मुलुक बनाउन मात्र सकियो भने यहाँको अर्थतन्त्रमा कायापलट हुनसक्छ । 

नेपालले पर्यटकीय विकास र संभावनालाई मूर्तरुप दिन पर्यटन बोर्ड पनि बनाएको छ । यसको मुख्य भूमिका नै नेपालमा कसरी पर्यटक ल्याउने भन्ने हो । तर पर्यटन बोर्डले त्यस्तो कुनै उल्लेख्य काम गरेको छैन, जसको कारण नेपालको पर्यटकीय संभावना संसारभर प्रचार होस् । पर्यटन नीति पर्यटकमैत्री बनाउनुको साथै पर्यटकहरुको लागि उपयुक्त वातावरण बनाउन सरकारले ठोस काम गर्नु आवश्यक छ । भर्खरै मात्र चीनले भारतीय पर्यटक भित्र्याउन विद्यमान भीसा प्रणालीलाई सरल बनाएको छ । भीसा शुल्क घटाउनेदेखि आवेदन प्रक्रियालाई पनि सरल बनाइएपछि भारतीय पर्यटकको संख्या बढेको अवस्था छ । पछिल्लो तीन महिनामा झण्डै ९० हजार भारतीय चीन यात्रामा निस्केका छन् ।

चीनले आफ्नो मुलुकमा पर्यटक आकर्षित गर्न विभिन्न किसिमका उपायहरु प्रयोग गर्न थालेको छ । नयाँ दिल्लीस्थित चिनियाँ राजदूत सु फेइहोङले चीन हेर्न,चिनियाँ संस्कृति बुझ्न र चिनियाँ खानाको स्वाद चाख्न सामाजिक सञ्जालमा भारतीय मित्रहरुलाई आग्रह गरेका छन् । यो वर्षको पछिल्लो तीन महिनामा ८५ हजार भीसा जारी भइसकेको दूतावासले जनाएको छ । मार्चसम्म उक्त संख्या ५० हजारको हाराहारीमा थियो ।

चीनले भारतीय पर्यटक भीसामा बायोमेट्रिक आवश्यक नपर्ने,भीसाको प्रक्रियालाई छोट्याउने,भीसा शुल्क घटाउने र पर्यटनका लागि उत्प्रेरित गर्ने नीति लिएपछि त्यता जाने भारतीयको संख्या बढेको हो । नेपालले पनि चीनले लिएको रणनीति अपनाउन सकेमा त्यसको सकारात्मक प्रभाव नै पर्दछ । गतवर्ष भारतमा भएको महाकुम्भ मेलामा करिब ६० करोड तीर्थयात्रीहरु गएका थिए । नेपाल जस्तो हिन्दु बाहुल्य मूलुकमा धार्मिक पर्यटनको राम्रो संभावना रहन्छ । भारत र नेपालको धार्मिक तिर्थाटनको सर्किट बनाउन सरकारले पहल गर्नु पर्दछ । यसो भएमा नेपालमा पर्यटन उद्योगको विकासले गति लिइ मुलुकमा समग्र अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुग्न सक्छ । 

मंगलबार, ०२ बैशाख २०८२, १३ : ४६

प्रतिक्रिया