समाचार टिप्पणी

गठबन्धनप्रति सत्ता साझेदार दल नै सशंकित

बुधबार, ०३ बैशाख २०८२, १० : २९

काठमाडौं - वर्तमान सत्ता गठबन्धनप्रति प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहालले आक्रामक टिप्पणी गरिरहेकोबेला सत्तारुढ दलकै नेताहरुले पनि सरकारको निरन्तरतामाथि प्रश्न ण्ठाउन थालेका छन् । कांग्रेसले नौ महिनाअघि आफैँले समर्थन गरेर बनाएको सरकारसँग भरोसा टुटेको सार्वजनिक टिप्पणी गरेको छ । सरकारको काम र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट कांग्रेस नेताहरूका पछिल्ला टिप्पणी सत्ता–राजनीतिको सम्भावित ‘कोर्स’का लागि पर्याप्त रहेको विश्लेषण हुन थालेको छ । 

गगन थापा नेपाली कांग्रेसका महामन्त्री मात्र होइनन् । उनी सरकार सञ्चालनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्यसमेत रहेका छन् । उनै गगन थापाले सरकारको काम र प्रधानमन्त्रीको नियतमाथि उठाएका प्रश्नलाई कांग्रेसले ‘संस्थागत धारणा’का रूपमा स्वीकार गरेपछि सरकारको स्थायित्वमाथि गम्भीर आशंका उत्पन्न भएको छ । प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा सरकार हेरफेर हुन सक्ने संकेत गरेको तथा ‘उपचार’का लागि यसै साता कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर जान थालेको सन्दर्भमा सत्तागठबन्धनबिचको अविश्वास अर्थपूर्ण मानिएको छ । 

गगनले सरकारमाथि गम्भीर आरोप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीको नाम नतोकिकनै बिचौलियाको प्रभावमा परेको बताएका छन् । उनले कांग्रेसनिकट बौद्धिक पेसाकर्मीहरूको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै  भनका थिए , ‘यो प्रधानमन्त्री, त्यो प्रधानमन्त्री म भन्दिनँ, बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म हुने भयो, ।’ 
सरकारका पछिल्ला निर्णयहरुप्रति थापाले गम्भीर प्रतिक्रिया दिएका छन् । कुलमानलाई हटाउने निर्णयलाई पनि उनले सरकार अनावश्यक काममा अल्झेको भनेका छन् । त्यस्तै उनले देशको अर्थतन्त्र यति धेरै बिग्रेकोमा पनि सरकारको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि गगनको विचारमा सहमति जनाउँदै यो पार्टीकै कुरा भएको प्रतिक्रिया दिइरहेका छन् ।  सरकारले नागरिकको असन्तुष्टिलाई सम्बोधन गर्न सकेको छैन भन्ने कुरामा नेता विश्वकर्मा जोड दिन चाहन्छन् । उनको भनाइ छ, ‘सरकारले कार्यशैलीमा परिवर्तन गर्नुपर्‍यो । संयन्त्रबाट महामन्त्रीले सुझाव दिनुभयो । सभापतिले पनि सुझाव दिनुभयो । तर, परिणाम नआएको अवस्थामा सबै ठिक छ भनेर बोल्न सक्ने स्थिति छैन, ।’ 

यति नै बेला प्रमुख प्रतिपक्ष दल माओवादीले भने सबै क्षेत्रमा असफल भएको सरकार जनताको चौतर्फी घेराबन्दीमा परेपछि सत्तारूढ दलका नेताहरूको असन्तुष्टि सार्वजनिक भएको दाबी गरेको छ । सत्तारूढ दलकै नेताको असन्तुष्टिले प्रधानमन्त्री अहिले दबाबमा छन् । सरकार परिवर्तनको रूपमा नभई प्रधानमन्त्रीलाई दबाब दिने कांग्रेसको रणनीति भए पनि सरकार विरुद्ध सडकमा जनताको आक्रोश व्यक्त भएपछि कांग्रेस पनि एमालेसँग टाढिन खोजेको देखिन्छ । तर सरकार विरुद्ध चर्को अभिव्इक्ति दिएका गगन, विश्वप्रकाश लगायतका नेताहरु  पार्टीमा निर्णायक अवस्थामा छैनन् । त्यसैले पनि प्रधानमन्त्री ओली गठबन्धनको निरन्तरताप्रति त्यति त्रसित छैनन् । यद्यपी  कुरा उठ्नेबित्तिकै उनले देउवालाई भेटिसके । त्यसैले कांग्रेसको यो रणनीति  ओलीलाई दवावमा राख्ने मात्र हो कि भन्ने पनि बुझिन्छ । ओली स्वेच्छाचारी हुन सक्ने खतरालाई गगनहरुको यो अभिव्यक्तिले सघाउन सक्छ । नेताहरूको असन्तुष्टि चर्किएपछि कांग्रेसले बोलायो बैठक
कांग्रेसले यही ७ वैशाखमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको गतिविधिबारे छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा सरकारको समीक्षा पनि हुने नेताहरूले बताएका छन् ।


 

बुधबार, ०३ बैशाख २०८२, १० : २९

प्रतिक्रिया