वीरगञ्जमा पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाही माग

बुधबार, ०३ बैशाख २०८२, १३ : २४

काठमाडौं- समाचार संकलनका क्रममा वीरगञ्जमा पत्रकारहरूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । 

वैशाख २ गते मंगलबार साँझ प्रदर्शनको समाचार संकलनमा जुटिरहेको अवस्थामा महासंघ एसोसिएट प्रदेश समितिका सदस्यसमेत रहेका चन्द्रसूर्य वाणीका धीरेन्द्र तिवारी, एभिन्यूज टेलिभिजनका अर्जुन गुप्ता र मध्य नेपाल सन्देशका अनिल ओझामाथि ढुंगा र लाठी प्रहार भएको महासंघको भनाई छ ।

पत्रकारमाथि भएको यस किसिमको आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी कदमको रुपमा लिएको महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । जुनसुकै पक्षबाट भए पनि यो कदमले पत्रकारको संवैधानिक सुनिश्चितता र नागरिकको सुसूचित हुने अधिकारमा आघात पुगेको महासंघको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘महासंघ पत्रकार र नागरिक सूचनाको अधिकारविरोधी यो कदमको छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्न र प्रेसको सुरक्षामा गम्भीर भई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ । साथै, घाइते पत्रकारको स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क उपचारको व्यवस्था गर्न पनि माग गर्दछ ।’

बुधबार, ०३ बैशाख २०८२, १३ : २४

प्रतिक्रिया