काठमाडौं– सिन्धुलीबाट निर्वाचित नेकपा(माओवादी केन्द्र)का सांसद राजन दाहालसँग उनका आफ्नै स्वकीय सचिवले असन्तुष्टि व्यक्त गरेका छन् ।
सांसद दाहालले सिन्धुलीस्थित पार्टी कार्यालय निर्माणमा संकलित रकम व्यक्तिगत प्रयोजनले चलाउन थालेपछि उनका स्वकीय सचिव गणेश रत्नले असन्तुष्टि व्यक्त गर्दै सचिवालयबाट बाहिरिने बताउँदै हिँडेका हुन् ।
सिन्धुलीको जिल्ला पार्टी कार्यालय निर्माणका लागि रकम संकलन गर्न सञ्चालित संयुक्त खाताका सञ्चालक मध्ये एक रहेका रत्न सो हिसाब किताब सबै पार्टीको संस्थागत खातामा राख्नुपर्ने अडानमा रहेका थिए ।
तर, सांसद दाहालले भने सुनकोशी गाउँपालिका अध्यक्ष रहेकी आफ्नै श्रीमती दिपा बोहरा सञ्चालक रहेको जनप्रतिष्ठानको खातामा राख्न लागेपछि रत्नले असन्तुष्टि व्यक्त गरेको उनी निकट स्रोतले जनाएको छ ।
देशभरका माओवादी नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकबाट संकलन गरिएको रकम हिनामिना नगरी पारदर्शी तवरले पार्टीको संस्थागत खातामा हिसाब किताब राख्नुपर्ने पक्षमा स्वकीय सचिव रत्न सुरु देखि नै रहेका थिए ।
उनको अडान विपरीत सांसद दाहाल भने आफ्नै श्रीमती बोहरा सञ्चालक रहेको संस्थामा रकम राख्न लगाएपछि रत्न स्वकिय सचिवबाट बाहिरिने तयारी गरेको उनी निकट स्रोतले बतायो ।
पटक पटक पार्टी कार्यालय निर्माणका लागि लिइएको रकमको बाँकी हिसाब किताब जिल्ला पार्टीको संस्थागत खातामा राख्न माग गर्दा सांसद दाहालले अस्वीकार गरेको उनको गुनासो छ । यस विषयले सांसद दाहालसँग उनको निकै टसल बढेको थियो ।
सांसद दाहालले आफ्नै श्रीमती सञ्चालक रहेको जनप्रतिष्ठानमा राखेपछि स्वकिय सचिव रत्न असन्तुष्ट भएर बाहिरिने निष्कर्षमा पुगेको जिल्लास्थित नेताहरुसँग बताइरहेका छन् ।
यस अघि पनि माओवादी सिन्धुलीको पार्टी कार्यालय निर्माणका लागि संकलित रकम सांसद दाहालले एकलौटीरुपमा चलाउँदै आएको आरोप लागेको थियो ।
यस बारेमा थप प्रतिक्रिया लिन दाहालका स्वकिय सचिव रत्नसँग सम्पर्क गर्ने प्रयास गर्दा उनको मोबाइल स्वीच अफ रहेकाले सम्पर्क हुन सकेन ।
प्रतिक्रिया