नेपालको अर्थपूर्ण सहभागितामा ४७औं इफाप्का सम्मेलन सम्पन्न

बुधबार, ०३ बैशाख २०८२, १६ : २२

काठमाडौं- सिंगापुरमा भएको एशियाली तथा पश्चिमप्रशान्त क्षेत्रका मुलुकहरूको साझेदारी संगठन (इफाप्का) को ४७औं सम्मेलनमा नेपालले निकै अर्थपूर्ण सहभागिता जनाएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा नेपाली टोली सहभागी भएको थियो।

सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले नेपालले जलस्रोत, सडक सञ्जाल, सिँचाइ, उड्डयनजस्ता भौतिक पूर्वाधारको क्षेत्रमा विभिन्न चुनौतीका बीच पनि महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको बताए।

पूर्व इफाप्का अध्यक्षसमेत रहेका सिंहले नेपालको निर्माण उद्योगले अहिले धेरै कठिनाइको सामना गरिरहेको, आर्थिक मन्दीको असर पूर्वाधार क्षेत्रमा परेको र जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेकोप्रति विश्व समुदायको ध्यानाकर्षण गराए। साथै, निर्माण सामग्रीको मूल्य अत्यधिक बढेका कारण पनि निर्माण उद्योगमा नकारात्मक प्रभाव परेको उनले बताए। उनले यस्ता चुनौतीबीच सरकारले निजी क्षेत्र र अन्तर्राष्ट्रिय दातासँग सहकार्यलाई प्राथमिकता दिएको र प्रविधिमा लगानी गर्नुपर्ने आवश्यकता  औंल्याए।

‘भोलिको निर्माणलाई अंकमाल’ भन्ने नारासहित आयोजना गरिएको ४७औं इफाप्का सम्मेलनमा नेपालले विभिन्न समितिहरूको बैठकमा पनि सक्रिय सहभागिता जनायो। यसै अवसरमा, नेपालले ४६औं इफाप्का सम्मेलन भव्य रूपमा सम्पन्न गरेकोमा इफाप्काबाट सम्मान प्राप्त गर्‍यो।

सम्मेलनको सफल आयोजनामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै तत्कालीन अध्यक्ष रवि सिंह र महासचिव बिरेन्द्रराज पाण्डेलाई सम्मानपत्र प्रदान गरियो। साथै, पाँचौ पटक इफाप्का सम्मेलनमा सहभागी भएका अनिल सिलवाललाई पनि सम्मान गरिएको थियो।

नेपाली टोलीले सिंगापुर र मलेसियाले छोटो समयमा भौतिक पूर्वाधार क्षेत्रमा गरेको प्रगतिको पनि स्थलगत अवलोकन गर्‍यो। सम्मेलन २०८१ सालको चैत्र २५ देखि २९ गतेसम्म सञ्चालन भएको थियो।

बुधबार, ०३ बैशाख २०८२, १६ : २२

प्रतिक्रिया