काठमाडौं- एनसेल नेपाल सुपर लिग (एनएसएल) ले फुटबलका महान हस्तीहरूमध्ये एक ब्राजिलियन पूर्वस्टार फुटबलर रोबर्टो कार्लोसलाई वैशाख ६ मा स्वागत गर्ने निश्चित भएको छ। प्रमुख अतिथिको रूपमा एनएसएल क्वालिफायर खेलमा रोबर्टो कार्लोस उपस्थित हुने भएपछि नेपाली खेलप्रेमीहरूमा उत्साह थपिएको छ।
क्वालिफायर ललितपुर सिटी फुटबल क्लब र धनगढी फुटबल क्लबबीच हुने पक्का भईसकेको छ । यो क्वालिफायर फाइनलका लागि निर्णयक खेल पनि हो । दुई पटक फाइनलमा पुगेको धनगढी एफसी पहिलो एनएसएल उपाधिको खोजीमा छ भने ललितपुर सिटी एफसी साविक विजेता टिम हो ।
कार्लोसको उपस्थितिबाट एनएसएल मञ्चमा जोश र उत्साह छाउने अपेक्षा गरिएको छ। कार्लोसको नेपाल भ्रमण नेपाली फुटबलका लागि गर्विलो क्षण हो। एनएसएलमा उनको उपस्थितिले विश्व फुटबलको नक्सामा हाम्रो लिगको पहिचान अझै उजागर हुनेछ।
फुटबलका ग्लोबल आइकन रोबर्टो कार्लोस आफ्नो शक्तिशाली फ्रिकिक, गति र मैदानमा अतुलनीय ऊर्जाका लागि परिचित छन्। रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरहरू मध्ये एक हुन्। फिफा विश्वकप र चार ला लिगा उपाधिहरू सहित दुई दशकभन्दा लामो व्यावसायिक फुटबल खेलका उनले विश्वभरका लाखौं फुटबल प्रेमीहरूलाई प्रेरित गरेका छन्।
कार्लोस क्वालिफायर खेलको एक दिन अघि वैशाख ५ गते नेपाल आइपुग्ने छन्। उनी एक डिनर, एक विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्। एनसेल एनएसएलमा कार्लोसको उपस्थिति लिगको लागि एक ठूलो उपलब्धि र देशको लागि पनि गर्वको क्षण हो।
नेपालको प्रमुख फ्रेन्चाइज(आधारित फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) ले देशभरका शीर्ष प्रतिभाहरूलाई एकै ठाउँमा ल्याइरहेको छ। रोमाञ्चक खेलहरू, उत्साही फ्यानहरू र अब रोबर्टो कार्लोसको उपस्थितिसँगै यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो साबित हुँदैछ।
खेलका टिकटहरू खल्ती एपमा उपलब्ध हुनेछन्। प्रशंसकहरूले फोनबाट सजिलै आफ्नो टिकट बुक गर्न सक्नेछन्।
प्रतिक्रिया