काठमाडौं- गायिका सुस्मिता स्याङ्तानको आवाजमा ‘कुलमानलाई फालेर’ बोलको गीत सार्वजनिक गरिएको छ ।
नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ लग्ने व्यक्ति भन्दै कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङ्तान युट्युब च्यानलमार्फत बजारमा ल्याएको हो ।
यो देशभक्तिपूर्ण गीतले हाल सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्दैछ । गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा प्रस्तुत गर्दै उनको इमानदार नेतृत्वप्रतिको सम्मान व्यक्त गरेको छ । साथै, यस गीतमा राजनीतिक प्रभावका कारण इमानदार व्यक्तिहरूको असमय विदाइप्रति गम्भीर प्रश्न उठाइएको छ ।
गीतमा सशक्त स्वर दिएकी गायिका सुस्मिता स्याङतानको प्रस्तुति सबैको मन छोएको छ भने गीत, संगीत तथा सिर्जना विवेक लोप्चनले गरेका हुन् । संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गरेका छन् भने सहयोगी स्वरमा अर्जुन न्यौपानेको योगदान रहेको छ । गीतको ध्वनि सम्पादन—मिक्सिङ र मास्टरिङ—गोविन्द सोनीले गरेका हुन् भने रेकर्डिङ ‘हुरी रेकर्डिङ स्टुडियो’ कुपण्डोलमा सम्पन्न भएको हो ।
भिडियोलाई सशक्त बनाउन निर्देशक विशाल सापकोटा र सम्पादन तथा रंग संयोजनमा त्रिलोक लामाले उत्कृष्ट योगदान दिएका छन्। सम्पूर्ण टिमले गीतलाई केवल सांगीतिक सिर्जना मात्र नभई एक सामाजिक सन्देश र राष्ट्रप्रेमको अभियानको रूपमा प्रस्तुत गरेका छन्।
यस गीतमार्फत अहिलेको नेपालमा इमानदार, निडर र जनमुखी नेतृत्वको खाँचो गहिरो रूपमा उठाइएको छ। दर्शक, श्रोता र देशप्रेमी युवाहरू यो गीतलाई ‘जनताको आवाज भन्दै सेयर भइरहेको छ ।
प्रतिक्रिया