१६ दिनदेखि सडकमा शिक्षक : कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना

विहीबार, ०४ बैशाख २०८२, १५ : ३२

काठमाडौं – शिक्षकहरूले आज १६औं दिन पनि काठमाण्डौको सडकमा प्रदर्शन गरेका छन् । चैत २० गतेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज पनि सडकमा प्रदर्शन गरेका हुन् ।

शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर–नयाँ बानेशवर सडक अवरुद्ध भएको छ । शिक्षकहरूले सडक ढाक्ने गरी प्रदर्शन गरिरहेका छन् । माइतीघर–नयाँ बानेश्वर सडकको प्रभावले बागमती करिडोरसहित अरू सडकहरूमा गाडीको चाप बढेको प्रहरीले जनाएको छ ।

सरकारले बजेट अधिवेशन आह्वान गरेर फास्ट ट्र्याकु बाट विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिए पनि शिक्षकहरूले विश्वास गरेका छैनन् । सरकारबाट यसअघि धोका पाएको भन्दै शिक्षकहरू यस पटक ऐन लिएर मात्रै फर्कने अडानमा छन् ।

शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ । कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ गतेदेखि हुने तालिका छ । शिक्षकहरू नै सहभागी नहुने भएपछि परीक्षा सञ्चालन गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए । शिक्षकहरू परीक्षामा आउने आशामा रहेको तर अब समय कम हुँदै गएको उनले बताए । 

कक्षा १२ को परीक्षा तोकिएको मितिमा सञ्चालन नभएमा त्यसको असर सम्पूर्ण शैक्षिक क्षेत्रमा पर्ने भएकोले शिक्षक र सरकार दुवै संवेदनशील हुनुपर्ने बोर्डका अध्यक्ष शर्माको भनाइ छ । 

 
विहीबार, ०४ बैशाख २०८२, १५ : ३२

प्रतिक्रिया