काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएपछि पार्टीभित्रको असन्तुष्टि सतहमा आएको छ ।
पूर्वमन्त्री एवं पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएकी छिन् । उनको राजीनामासँगै पार्टीभित्रको किचलो सतहमा आएको हो ।
यस अघि सभापति लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएपछि महामन्त्री रहेका डा.मुकुल ढकाललाई पदबाट हटाइएको थियो । सोही प्रकृतिको असन्तुष्टि व्यक्त गर्दै सहमहामन्त्री रहेकी श्रेष्ठले पनि राजीनामा बुझाएको विषय बाहिरिएको छ । उनले सभापति लामिछाने पार्टी सभापतिमा फर्किएकै दिन राजीनामा बुझाएकी थिइन् ।
उनले एक व्यक्ति एक पदको अवधारणा अनुसार सांसदको मात्रै जिम्मेवारीमा रहने गरी राजीनामा दिइएको बताइएपनि नेतृत्वकै कार्यशैलीमाथि नै प्रश्न उठाएको रास्वपा स्रोत बताउँछ ।
स्रोतका अनुसार सहकारी ठगी प्रकरणमा पक्राउ परेर देशभरका विभिन्न अदालतबाट धरौटीमा रिहा भएपछि लामिछाने सभापतिको जिम्मेवारीमा फर्किएपछि सुमना रुष्ट भएकी हुन् ।
साथै उनले सहकारी ठगीको दाग लागेपछि त्यसलाई चिर्न नसकेको भन्दै असन्तुष्ट रहेकी थिइन् । आजको बैठकमा उनको राजीनामा बारे छलफल गरिने रास्वपाले जनाएको छ ।
प्रतिक्रिया