काठमाडौं- चैत १५ गते काठमाडौंको तीनकुने घटनामा भएको क्षतिमा साँढे ४ करोडको बीमा दाबी परेको छ । जसमा बीमा कम्पनीहरुले साढे ३३ लाख रुपैयाँ भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार वैशाख ३ गते सम्म ४ कम्पनीले सो दाबी भुक्तानी गरेका हुन् ।
घटनामा निर्जीवन बीमा कम्पनीहरुमा कुल ४ करोड ५९ लाख ६२ हजार रुपैयाँ बराबरको दाबी पेश भएको छ । हालसम्म ४ कम्पनीहरुले मात्रै ३३ लाख ३५ हजार ८५३ रुपैयाँ बराबरको १३ वटा मात्रै भुक्तानी दिएका हुन् । कम्पनीहरुले ८ वटा सम्पत्ति बीमालेख अन्तर्गका ३२ लाख ४२ हजार, मोटर बीमा (निजी) तर्फ ९२ हजार र विविध अन्तर्गत १ हजार १३० रुपैयाँ भुक्तानी दिएका हुन् ।
जसमध्ये शिखर इन्स्योरेन्सले शतप्रतिशत दाबी भुक्तानी दिएको छ । कम्पनीमा कुल ४ लाख ९८ हजार २१३ रुपैयाँ बराबरको ५ वटा मात्रै दावी पेश भएको थियो । कम्पनीले छोटो अवधिमा नै शतप्रतिशत दाबी भुक्तानी गर्ने सफल भएको हो ।
यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २६ लाख ७ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको छ । कम्पनीमा कुल ७६ लाख ७० हजार रुपैयाँ बराबरको ८ वटा मात्रै दाबी पेश भएको थियो ।
यसैगरी सगरमाथा लुम्बिनीले ७५ लाख ४९ हजार रुपैयाँ बराबरको ७ वटा दावी पेश भएकोमा २ लाख २ हजार र आइजीआई प्रेडेन्सियलले १७ लाख ३८ हजार रुपैयाँ बराबरको ६ वटा दाबी पेश भएकोमा २८ हजार ३०० रुपैयाँ भुक्तानी दिएको छ ।
बीमा दाबी परेकामध्ये ८ वटा कम्पनीहरुले दाबी भुक्तानी दिन बाँकी रहेको छ । प्राधिकरणकाअनुसार नेको इन्स्योरेन्स, द ओरियण्टल इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योेरेन्स र प्रभु इन्स्योरेन्सले दाबी भुक्तानी दिन बाँकी छ ।
प्रतिक्रिया