नेपाल बैंकको नाफामा वृद्धि, ईपीएस पनि बढ्यो

शनिबार, ०६ बैशाख २०८२, १२ : ४२

काठमाडौं- नेपाल बैंकको नाफामा वृद्धि भएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा बढेको देखिएको हो । 

विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म १३ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २०३२.८० प्रतिशतले बढेको छ। 
यस समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३० करोड ६२ लाख रुपैयाँ रहेको छ। बैंकको सञ्चालन मुनाफा बढेर ४ अर्ब ३१ करोड २७ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ५८ करोड ५३ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि ६३६.८४ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले ७ अर्ब १० करोड ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। 

चुक्तापुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर २३ अर्ब ३१ करोड ३४ लाख रुपैयाँको उचाइमा पुगेको छ। यो अवधिसम्म बैंकले ३ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। 

समीक्षा अवधिसम्म बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २५.२६ रुपैयाँ कायम भएको छ। बैंकको खराब कर्जा अनुपात (एनपीएल) बढेर ५.५५ प्रतिशतमा पुगेको छ।

शनिबार, ०६ बैशाख २०८२, १२ : ४२

प्रतिक्रिया