काठमाडौं- नेपाल सरकारले आज शनिबार देखि भोलि आइतबारसम्म (वैशाख ६ र ७ गते) देशभरका बालबालिकाहरूलाई ७५३ वटै स्थानीय पालिका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेको छ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिना उमेर समूहका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो।
यस कार्यक्रम अन्तर्गत देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। यसै गरी १ देखि ५ वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने सरकारको लक्ष्य रहेको छ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन हुँदै छन्।
भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारका लागि ०५० सालमा ८ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू भएको छ ।
प्रतिक्रिया