नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्न जरुरी छ: उपप्रधानमन्त्री सिंह

शनिबार, ०६ बैशाख २०८२, १४ : ०६

काठमाडौं- उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौँका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन् । काठमाडौँको वडा नं १० बुद्धनगरवासीद्वारा सञ्चालन गरिएको ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहितको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नदी सफा गर्नका लागि नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

उपप्रधानमन्त्री सिंहले नदी सफा गर्नका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समितिलगायतसँग छलफल गर्ने र लगानीको लक्ष्य र उद्देश्यअनुरुप प्रतिफल प्राप्त नभएको पक्षलाई विश्लेषण गर्न जरुरी रहेकामा जोड दिए । उपप्रधानमन्त्री सिंहले बुद्धनगरवासीले सानो भए पनि सकारात्मक कामलाई निरन्तरता दिएर रचनात्मक कामलाई जारी राखेको भनी अभियन्ता र सहभागीप्रति आभार प्रकट गर्दै बधाई दिए । उनले उक्त अभियानमा आबद्ध हुन सबैलाई आह्वान समेत गरे ।

उक्त अभियानबाट टोलवासीको मनमा सकारात्मक दियो बाल्ने प्रयास गरिएको र त्यो सफल भएको उल्लेख गर्दै मन्त्री सिंहले सरसफाइ अभियान २०७२ को भूकम्प अगाडि नै सुरु भई ५२२ हप्ता पूरा गरेको जानकारी दिए । कार्यक्रमका अभियन्ता संविधानसभाका पूर्वसदस्य मोहनकुमार राईले सार्थक परिवर्तनका लागि सानै काम गरौँ भन्ने भावनाले प्रेरित भई बुद्धनगर सफाइ अभियान सञ्चालन गरेको र यसलाई १० वर्षसम्म निरन्तरता दिन सकिएको उनले बताए ।

थर्ड आई युथ क्लबका सुवास राईको समाजमा केही गरौँ भन्ने भावनाबाट यो अभियान सुरु गरी यसलाई हालसम्म निरन्तरता दिइएकाले दुनियाँले के भन्छ भन्ने कुरामा नलागी आत्मसन्तुष्टिका लागि काम गरिएको बताए ।

यसअघि बुद्धनगरस्थित सेतो गणेशस्थानबाट  सुरु भएको सरसफाइ कार्यक्रमका सभापति समाजसेवी सप्तराज बज्राचार्यले सहभागी सबैलाई सरसफाइलाई निरन्तरता दिइ १० वर्ष पूरा गरेकामा धन्यवाद दिए । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, कांग्रेस नेतृ सृजना सिंह र नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति रविन्द्रविक्रम राणालगायत सहभागी रहेका थिए । रासस

शनिबार, ०६ बैशाख २०८२, १४ : ०६

प्रतिक्रिया