काठमाडौं- सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेशनल आइसिटी अवार्ड) का लागि आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । मन्त्रालयले यसअघि नै सुचना जारी गरी आवेदन दिनका लागि वैशाख ७ गते साँझ ५ बजेसम्मको मिति तय गरेको थियो ।
यस वर्ष मन्त्रालयले विभिन्न विधामा अवार्ड वितरण गर्ने तयारी गरेको छ। अवार्डहरूमा नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२५, महिला सहभागितालाई प्रोत्साहन गर्न नेशनल आइसिटी एक्सिलेन्स अवार्ड २०२५ (महिला), साथै सार्वजनिक तथा निजी क्षेत्र दुवैका लागि छुट्टाछुट्टै अवार्डहरू समावेश गरिएको छ। यस्तै, प्रान्तीय तथा स्थानीय तहका सार्वजनिक र निजी क्षेत्रलाई लक्षित गरी अलग अवार्ड प्रदान गरिनेछ। साथै, नवप्रवर्तनलाई प्रोत्साहित गर्न नेशनल आइसिटी इनोभेसन अवार्ड २०२५ र नयाँ व्यवसाय उद्यमलाई समर्थन गर्न नेशनल आइसिटी स्टार्टअप अवार्ड २०२५ पनि प्रदान गरिनेछ।
नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका रूपमा मनाउँदै आएको छ। यही अवसरमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्ति तथा संस्था वा संघसंस्थालाई सम्मान गर्ने परम्परा अनुरूप यो अवार्ड वितरण कार्यक्रम हुँदै आएको हो।
यस पटकको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारमार्फत नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान पुयाउने व्यक्तिहरू र संस्थाहरूलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ।
आवेदन दिन इच्छुक सार्वजनिक निकाय, संस्था, कार्यालय, कम्पनी तथा व्यक्तिहरूले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको वेबसाइट www.mocit.gov.np वा सूचना प्रविधि विभागको वेबसाइट www.doit.gov.np मा उपलब्ध आवेदन फाराम डाउनलोड गरी भर्नुपर्नेछ। आवेदन फाराम २०८२ साल वैशाख ७ गते बेलुका ५ बजेसम्म [email protected] इमेलमार्फत पठाउन सकिनेछ वा मन्त्रालयको सूचना प्रविधि महाशाखामा दर्ता गर्न सकिनेछ।
प्रतिक्रिया