काभ्रेमा पनि सहकारीको रकम अपचलन बढ्दो : २० जना पक्राउ, ४६ अझै फरार

शनिबार, ०६ बैशाख २०८२, २० : १६

काभ्रेपलाञ्चोक- जिल्लामा सहकारीको रकम अपचलन अभियोग लागेकामध्ये २० जना पक्राउ परेका छन् भने ४६ जना फरार रहेका छन् । विभिन्न सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको अभियोगमा हालसम्म २० जनालाई सञ्चालक पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ठगीविरुद्ध जाहेरी परेका तीन सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेस भएको कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । ती सहकारीमध्ये बनेपाको पुण्यश्वरी सहकारीको रु तीन करोड ८० लाख ९३ हजार ४१८, गरुड सहकारीको रु १४ करोड र युनिटी सहकारीको रु तीन करोड ५० लाखभन्दा धेरै बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ । 

सूचना अधिकारी घलेका अनुसार यहाँ सात सहकारीका ६६ सञ्चालकविरुद्ध ठगीमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । बाँकी चार सहकारीको अनुसन्धान जारी  छ । थप केही सहकारीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गर्नेगरी अनुसन्धान भएको जनाइएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले सहकारी ठगीबारे पछिल्ला केही महिनादेखि उजुरी तथा जाहेरी आउने क्रम बढ्न थालेको बताइन् ।  “सात सहकारीका ६६ जना सञ्चालकविरुद्ध मुद्दा परेकामा २० जनालाई पक्राउ गरिएको छ, बाँकी फरार छन्, फरारको खोजीकार्य भइरहेको छ । पछिल्लो समय उजुरी आउने क्रम बढिरहेको छ”, उनले भनिन् । 

शनिबार, ०६ बैशाख २०८२, २० : १६

प्रतिक्रिया