काठमाडौं- राप्रपाले आइतबारको प्रदर्शनमा निषेधित क्षेत्र तोड्ने बताउँदै सामूहिक गिरफ्तारी दिने तयारी गरेपछि गृह मन्त्रालयले त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । गृह मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाको तयारी प्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’
मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने ब्यहोरा सूचित गरिन्छ। साथै, समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ।’
प्रतिक्रिया