९ महिनामा ११ खर्ब व्यापार घाटा, १४ खर्बको निर्यात

आइतबार, ०७ बैशाख २०८२, १२ : ०९

काठमाडौं- चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म (९ महिना) मा आयात निर्यात दुवै बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । तर आयात निर्यात बढे पनि गत वर्षको तुलनामा देशको व्यापार घाटा बढेको छ  । 

विभागकाअनुसार २०८१/८२ को चैत मसान्तसम्म १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको वस्तु व्यापार भएको छ । अघिल्लो वर्ष २०८०/८१ को सोही अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापार भएको छ । 

यसअनुसार गत वर्षको तुलनामा चालु वर्षमा १६.८९ प्रतिशतले वैदेशिक व्यापारमा वृद्धि भएको छ । यो अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, भने १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको यसै अवधिमा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँको आयात भएको थियो, भने १ खर्ब ३९ अर्ब ४६ करोड रुपैयाँको निर्यात भएको थियो ।

गत वर्षको तुलनामा चालु वर्षमा आयात १२.१८ प्रतिशतले वृद्धि भएको देखिन्छ भने निर्यात ६५ प्रतिशतले वृद्धि भएको देखिन्छ । 

आयात निर्यात बढ्दा देशको कुल व्यापार घाटा पनि बढेको छ । चालु वर्षको ९ महिनामा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ बराबर व्यापार घाटा  देखिएको छ  । अघिल्लो वर्षको सोही अवधिमा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बराबर व्यापार घाटा रहेको थियो ।

आइतबार, ०७ बैशाख २०८२, १२ : ०९

प्रतिक्रिया