राप्रपाद्वारा सिंहदबारभित्रै सांकेतिक प्रदर्शन

आइतबार, ०७ बैशाख २०८२, १४ : ०८

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिंहदबारभित्रै सांकेतिक प्रदर्शन गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरुले सिंहदबारभित्रै प्रदर्शन गरेका हुन् । उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका हुन् । सो पम्प्लेट प्रहरीले खोसेको छ । राप्रपाका नेताहरु सिंहदरबारबाट प्रदर्शन गर्दै बाहिरिएका थिए । 

सो क्रममा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । सोही अनुसार राप्रपाका कार्यकर्ताहरु बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदबारमै सांकेतिक प्रदर्शन गरेका हुन् । 

नेताहरु अब बानेश्वर पुग्ने बताइएको छ । राप्रपाले तीनकुने घटनाको छानबिन माग,पार्टीका नेताहरुको रिहाइका साथै राजसंस्थाको पक्षमा आइतबार प्रदर्शन आयोजना गरेको हो।

आइतबार, ०७ बैशाख २०८२, १४ : ०८

प्रतिक्रिया