काठमाडौं - मुलुक अहिले आन्दोलनमय भएको छ । नेपाल शिक्षक महासङ्घले गरेका आन्दोलन आज १९ औ. दिनमा पुग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सडकमा आएको छ । उसले निषेधित क्षेत्र तोड्ने भनेर सरकारसँग युद्धको घोषणा नै गरेको छ । उसको प्रदर्शनको कारण काठमाडौं उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
संयोगले २०६२ ६३ को जनआन्दोलन १९ दिनमै टुंगिएको थियो । शिक्षक आन्दोलन कहिलेसम्म जाने हो कुनै ठेगान छैन । लोकतान्त्रिक सरकारले यति लामो समयसम्म पनि लाखौंको संख्यामा शिक्षकहरु सडकमा आउँदा पनि कुनै रेस्पोन्स गरिरहेको छैन ।
आजका सत्तामा रहेका र प्रतिपक्षमा रहेका दलहरुले तत्कालीन राजाको सरकारलाई अलोकतान्त्रिक भनेर हटाएका थिए । राजाले पनि आन्दोलनकारीको कुरा सुनेर १९ दिनमै माग पुरा गरिदिएका थिए । तर आज लोकतान्त्रिक सरकारले कुन खालको रवैया देखाइरहेको छ ? के नामले मात्र पुग्ने हो र ?
सडक आन्दोलनको कारण सर्वसाधारणको दैनिकी कष्टकर बनिरहेको छ । विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ ।प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए । भद्रकाली र तीनकुनेबाट सवारी डाइभर्ट गरिएको छ ।
शिक्षकहरुले कब्जा गरेको सडक उक्त सडकखण्डमा राप्रपा पनि मिसिएपछि यातायात व्यवस्था नै अस्तव्यस्त बनेको छ । तर सरकार भने जनताको यो सास्तीमा रमिते बनेको छ । अहिले उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको छ भने धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन् । उनीहरुको आन्दोलनसँगै आज राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको हो ।
उक्त प्रदर्शनमा सहभागि एक शिक्षकले आजको अर्थलाई भने, ‘ उ बेला राजाले १९ दिनमै जनताको आवाज सुने तर जनताको लागि लडेको दाबी गर्ने दलले यतिका दिनसम्म पनि सुनेनन् । ’
प्रतिक्रिया