सशस्त्र प्रहरी बल पर्साले मनायो १८ औं वार्षिकोत्सव

आइतबार, ०७ बैशाख २०८२, १४ : ४९

काठमाडौं- पर्साका सिडिओ गणेश अर्यालले कानुन कार्यान्वयनमा निर्मम बन्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर– १३ गणको स्थापना भएको अवसरमा आयोजित १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै सिडिओ अर्यालले यस्तो निर्देशन दिएका हुन् । 

सशस्त्र प्रहरी बलले आफ्नो सङ्गठनको नीतिको परिधिमा रहेर उल्लेखनीय काम गरेको उनले स्मरण गरे । उनका अनुसार पर्सा जिल्लामा सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा र सीमाको रक्षासहित अन्य आफ्नो जिम्मेवारी निर्वाहमा उत्कृष्ट काम गरिरहेको छ । तर यतिले मात्र नपुगेको उनले बताए । 

उनी भन्छन्, ‘सशस्त्र प्रहरी बलले अब आगामी दिनमा कानुनको कार्यान्वयनको पाटोमा अझ बढी निर्मम बन्नु पर्छ, भने नागरिकको सेवामा नरम बन्नुपर्छ । यसो गरेमा राष्ट्रले चाहेको, नागरिकले खोजेको चाहनाको सम्बोधन हुन्छ । त्यसकारण अब आगामी दिनमा सशस्त्र प्रहरी बलले यसतर्फ ध्यान दिनुपर्छ ।’ 

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिडिओ अर्यालले सशस्त्र प्रहरीका जवानदेखि लिएर अधिकारीहरूलाई शुभकामना दिँदै सेवामा दत्तचित्त भएर लाग्न निर्देशन दिएका थिए । कार्यक्रममा सहभागी सशस्त्र प्रहरी बल मधेस प्रदेशका डिआइजी कालीदास धोबजीले सङ्गठनको नीति भन्दा बाहिर गएर काम नगर्न सुझाव दिए । 

सशस्त्र प्रहरीको जिम्मेवारी धेरै रहेकोले अझ बढी जिम्मेवार भएर सेवा गर्न उनले निर्देशन दिएका हुन । स्थापना दिवसको अवसरमा डिआइजी धौबजीले पर्सा सशस्त्र प्रहरी बललाई जनतासँग, स्थानीय तहसँग अझ बढी समन्वय गरेर काम गर्न निर्देशन दिएका छन् । वार्षिकोत्सवमा पर्साका एसपी राधेश्याम धितालले सशस्त्र प्रहरीले आगामी दिन अझ बढी नागरिक सेवामा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । 

उनले भने, ‘सशस्त्र प्रहरी बललको आफ्नो नीति छ, हाम्रो काम र कर्तव्यको बारेमा सङ्गठनको बेग्लै नीति छ । त्यही नीतमा आधारित भएर हामी आफ्नो सेवा प्रवाह गर्छौ । त्यसकारण कानुन कार्यान्वयन एक इन्च दाँयाबाँया हुँदैन ।’ 

वार्षिकोत्सवको अवसरमा सशस्त्र प्रहरी बललाई विभिन्न समयमा सहयोग गर्ने सामाजिक अगुवाहरूलाई सम्मानित गरिएको थियो ।

आइतबार, ०७ बैशाख २०८२, १४ : ४९

प्रतिक्रिया