काठमाडौं – पछिल्लो समय राजनीतिक दलहरु र नेताप्रति वितृष्णा पैदा हुँदै गएको छ । तर, केही राजनीतिकर्मी यस्ता पनि छन्, जो स्वार्थ भन्दा माथि उठेर निरन्तर जनताको सेवामा तल्लिन छन् । यी मध्येका जनताका लोकप्रिय नेता हुन दार्चुलाका नरेन्द्र सिंह धामी । पूर्व मालिकार्जुन गाउँपालिकाका अध्यक्ष समेत रहेका नेता धामीले पछिल्लो समय आफ्नो सम्पूर्ण जीवन जनताको सेवामा समर्पित गरेका छन् । हाल संघीय राजधानीमा रहेका उनले दार्चुलाबाट आएका विरामी तथा असहाय हरुलाई सहयोग गर्दै आएका छन् ।
आजभोली हरेक दिन जसो उनको वास काठमाडौंका अस्पतालमा हुने गरेको छ । उनी भन्छन् ः ‘मलाई भगवानले जनताको सेवा गर्ने सौभाग्य दिएको छ म यसैमा खुसी छु ।’ राजनीति कुनै पेशा, व्यवसाय नभइ निष्ठा, धर्म तथा आर्दश भएको उनको बुझाइ छ । यति मात्र नभएर गम्भीर प्रकृतिका रोगीहरुको लागि आर्थिक सहयोग जुटाउने काम पनि धामीले गर्दै आएका छन् । बढी जसो गाउँघरमै बस्न रुचाउने धामी प्रत्येक जनताको दुख सुखका सारथी बनेका छन् । जन्तीदेखि शवयात्रासम्म धामी जनताकै साथमा हुनेगर्छन् ।
आफ्नो परिवारको पनि ख्याल नगरी जनतालाई दिएको सेवाका लागि उनी जिल्लावासीको मनमा बस्न सफल भएका छन् । यस्तै दार्चुला जिल्लाका हरेक समस्याहरुलाई लिएर उनी मन्त्रालय जाने गर्छन ।
माथिल्लो तहसम्म राम्रै पहुँच भएका धामीले मालिकार्जुन गाउँपालिका लगायत अन्य क्षेत्रका लागि बजेट विनियोजन गराउने काममा व्यस्त छन् । मालिकार्जुन गाउँपालिकामा विकासको जग हाल्ने काम धामीले नै गरेको स्थानीय सिद्धराज पन्त बताउँछन् । उनी भन्छन् ः ‘नरेन्द्र सिंह धामीलाई प्रतिनिधिसभा सांसद भएको हेर्ने मन छ, यदि उनी सांसद भएर गए भने पक्कै पनि जिल्लाको मुहार फेरिने थियो ।’ मन्द मुस्कान, शालीन तथा मृदुभाषी स्वभावका धामी ठूलो राजनीतिक भविष्य बोकेका नेता हुन् ।
कतिपयले पछिल्लो समय उनलाई स्वर्गीय राष्ट्रवादी नेता प्रेम सिंह धामीसँग पनि तुलना गरेर हेर्ने गरेका छन् । दार्चुलाको मालिकार्जुन–३ मडको एक मध्यवर्गीय किसान परिवारमा जन्मिएका धामीले राजनीतिमा ठूलो संघर्ष गरेका छन् । उनी भन्छन् : ‘मैले पाएको जीवन मेरा लागि मात्र नभएर जनताका लागि समर्पित गर्न चाहान्छु ।’
नेपाली कांग्रेसबाट राजनीतिमा होमिएका धामिलाई देख्ने जतिले उनी सम्पूर्ण जिल्लावासीको नेता भएको बताउँछन् । धामी अगाडि भन्नछन् ः हाम्रा आदरणीय नेता तथा प्रतिनिधिसभा सांसद दिलेन्द्र प्रसाद बडुको साथ र सहयोगले अझ हौसला थपिएको छ ।
मालिकार्जन गाउँपालिका ८ पस्तीकी स्थानीय गोमती पन्त नरेन्द्र धामी नेता मात्रै नभएर जनताको सेवक भएको बताउँछिन । पछिल्लो समय जनताका माझ लोकप्रिय बन्दै गएका धामीको जीवनशैली भने साधारण छ ।
उनी राजधानीका कतिपय स्थानमा पैदलयात्रा गरेर नै पुग्ने गरेका छन् । मालिकार्जुन गाउँपालिका अध्यक्ष हुँदा उनले सुरु गरेका आयोजनामा पनि संघीय सरकार मार्फत बजेट पार्न सफल भएका छन् । उनको राजनीतिक निष्टा र विकासप्रति समर्पणले पछिल्लो समय उनी जनताको मनमा बस्न सफल भएका छन् ।
प्रतिक्रिया