काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रमुख जीवन बीमा योजना ‘सरल सावधिक जीवन बीमा’का लागि २०२५ वर्षका सद्भावना दूतमा श्रीमती सुशिला रोकालाई नियुक्त गरेको छ। कम्पनीले विशेष समारोह आयोजना गर्दै उनलाई आधिकारिक रूपमा प्रडक्ट एम्बासडर घोषणा गर्दै ब्यानर र प्रचार सामग्रीहरू समेत सार्वजनिक गरेको हो।
सुशिला रोकाले कम्पनीको मासिक स्किम अन्तर्गत देशभरिका अभिकर्ताहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्दै ‘सरल सावधिक जीवन बीमा’ योजनाको सद्भावना दूत बन्ने अवसर प्राप्त गरेकी हुन्।
समारोहमा कम्पनीका उच्च व्यवस्थापन सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत श्री पवन कुमार खड्का तथा देशभरबाट आएका अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कम्पनीले यो घोषणा सम्मानका रूपमा मात्र नभई, अभिकर्ताहरूबीच स्वस्थ प्रतिस्पर्धा र थप प्रतिबद्धता विकास गर्न गरिएको स्पष्ट पारेको छ। प्रमुख कार्यकारी अधिकृत खड्काले भने, “यो अभियानले सेवा गुणस्तरमा मात्रै होइन, अभिकर्ताहरूको व्यावसायिक क्षमता र आत्मविश्वासमा पनि ठोस प्रभाव पार्नेछ।”
उनका अनुसार, कम्पनीले बीमा सेवा सम्बन्धी ज्ञान, दक्षता र व्यक्तित्व विकासलाई प्राथमिकता दिँदै बीमितहरूलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यलाई निरन्तरता दिइरहेको छ।
प्रतिक्रिया