राजसंस्था पक्षधरको चरणबद्ध आन्दोलन र गिरफ्तारीको संकेत

सोमबार, ०८ बैशाख २०८२, १० : ३४

काठमाडौं - प्रहरीले आइतवार दिउँसो नियन्त्रणमा लिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्रबहादुर शाहीलाई साँझ रिहा गरेको छ।

‘निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले उहाँहरूलाई नियन्त्रणमा लिएका थियौँ। अहिले रिहा गरिसक्यौँ,’ केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बीबीसी न्यूज नेपालीसँग भने।

प्रहरीका अनुसार गिरफ्तारीपछि उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाण्डूमा राखिएको थियो।

आफ्ना नेताहरूलाई काठमाण्डूस्थित सिंहदरबारबाट आइतवार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको सो पार्टीका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताएका थिए।
चरणबद्ध प्रदर्शन
पूर्वनिर्धारित कार्यक्रमअनुसार राप्रपाले आइतवार काठमाण्डूमा प्रदर्शन गरेको हो। राप्रपाले केही समययता चरणबद्ध प्रदर्शनहरू गर्दै आएको छ।

गत चैत १५ गते शुरूमा काठमाण्डूको तीनकुनेमा राजसंस्था पक्षधर विभिन्न समूहले गरेको प्रदर्शनमा राप्रपाको पनि उपस्थिति थियो जुन प्रदर्शन हिंसात्मक बन्न पुगेको थियो।

उक्त प्रदर्शनका क्रममा एक पत्रकारसहित दुईजनाको ज्यान गएको थियो भने प्रहरी र प्रदर्शनकारीहरूसहित कैयौँ व्यक्ति घाइते भएका थिए।

राप्रपा एक्लैले प्रदर्शन गर्न चाहिरहेको विश्लेषक बताउँछन्
घटना हिंसात्मक हुन पुग्नुमा प्रदर्शनकारी र सरकारी अधिकारीहरूले आआफ्नै तर्क गर्दै आएका छन्।

आयोजकहरूले सुरक्षाकर्मीका कारण प्रदर्शनमा अप्रिय घटना हुन पुगेको बताउने गरेका छन् भने सरकारी अधिकारीहरूले प्रदर्शनकारीहरूकै तर्फबाट तोडफोड र आगजनी गरिएपछि घटना हिंसात्मक बन्न पुगेको बताउने गरेका छन्।

उक्त प्रदर्शनका क्रममा भएका जनधनको क्षतिप्रति हालै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि दुःख व्यक्त गरेका थिए।

चैत १५ पछि २६ गते राप्रपाले काठमाण्डूमा गरेको प्रदर्शन चाहिँ शान्तिपूर्णल रह्यो।

त्यसपश्चात्‌ आइतवार गरेको प्रदर्शनका क्रममा राप्रपाका अध्यक्षसहित केही भातृ सङ्गठनका प्रमुख पनि पक्राउ परेका सो पार्टीका महामन्त्री शरदराज पाठकले बीबीसीलाई बताए।

यसअघि तीनकुनेमा भएको घटनालाई लिएर पक्राउ गरिएका सो पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित केही नेता एवं कार्यकर्ता हाल प्रहरी हिरासतमा छन्।

प्रतिवाद गर्ने चेतावनी
राप्रपाले यसअघि र आइतवार गरिएका आफ्ना नेताहरूको गिरफ्तारीको निन्दा गरेको छ।

सो पार्टीको आइतवार साँझ बसेको केन्द्रीय कार्य सम्पादन समितिको आकस्मिक बैठकले गिरफ्तार गरिएका सबैको अविलम्ब रिहाइको मागसमेत गरेको थियो।

‘सरकारको रवैयाले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रच अधिकार कुण्ठित भएको छ,’ राप्रपाले आइतवार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘संविधानप्रदत अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढङ्गबाट विरोध र प्रतिवाद गर्ने छ। त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सरकार हुनुपर्ने छ।’

‘राप्रपा राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापना सङ्घीयता खारेजीलगायत राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्दाका पक्षमा अझ दृढ रूपमा अघि बढ्ने छ,’ उसको विज्ञप्तिमा अगाडि भनिएको छ।

राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले पनि आइतवार गरिएको गिरफ्तारीको आलोचना गरेको छ।

‘तत्काल तीनकुने गोलीकाण्डको निष्पक्ष न्यायिक आयोग गठन गर्न र पक्रा गरिएका जनप्रतिनिधि तथा झूटा मुद्दामा फसाइएका सबैलाई अविलम्ब रिहा गर्दै वार्ता र संवादको प्रक्रियामा आउन समेत हामी सरकारसँग पुनः आह्वान गर्दछौँ,’ समितिका प्रवक्ता स्वागत नेपालले एउटा विज्ञप्ति जारी गरी भनेका छन्।

सरकारले घटनाबारे न्यायिक आयोग गठन गर्न अस्वीकार गर्दै आएको छ। सो घटनाका सम्बन्धमा प्रहरीले नै अनुसन्धान गर्ने उसको तर्क रहिआएको छ।

विश्लेषक के भन्छन् ?
पछिल्ला समय हुँदै आएका प्रदर्शनलाई विभिन्न कोणबाट हेर्ने गरिएको छ।

राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम प्रकारान्तरमा नेपालमा कोही पनि विपक्षी नभएको टिप्पणी गर्छन्।

‘विसं २०७९ को चुनावपछि नेपाल मजदुर किसान पार्टीबाहेक सबै दल सरकारमा गएका छन्। संसद्‌मा अहिले विपक्षी नै छन् र जब चाहिँ संसद्‌मा प्रतिपक्षी हुँदैन तब सडकमा प्रतिपक्षी आउँछ,’ बीबीसी न्यूज नेपालीसँग उनले भने।

‘अहिले चाहे शिक्षकहरूको आन्दोलन होओस् अथवा राजावादीहरूको आन्दोलन होओस्, जे भइरहेका छन् त्यो भनेको संसद्‌ले विपक्षीलाई प्रतिनिधित्व गर्न सकेन भन्ने हो,’ गौतमले अगाडि थपे।
अरूबाट छुट्टिँदै राप्रपा

पछिल्ला आन्दोलनमा भइरहेका सहभागितलाई हेर्दा राप्रपा अरूसँग छुट्टिँदै गएको उनी बताउँछन्।

‘चैत १५ मा अरू पक्षहरूले गरेको आन्दोलनमा राप्रपा सामेल भयो। चैत २६ गते अरू केही उसकोमा सहभागी भए। आइतवारको विशुद्ध रूपमा उसले मात्र गर्‍यो,’ गौतमले भने।

‘मैले देखेको चाहिँ राप्रपा अरूसँग आबद्ध भएर जान्न चाहँदैन। यो त हिन्दूराष्ट्र तथा राजसंस्थाको पुनः स्थापनो उसको चुनावी अजेन्डा हो ।’

केही दिनअघि मात्रै राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पनि राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको माग राख्ने शक्तिहरूले गर्ने आन्दोलनको नेतृत्व विस्तारै राप्रपाले गर्ने बताएका थिए।

चैत २६ मा बल्खुमा राप्रपाले गरेको सभामा सहभागी नभएको राप्रपा नेपाल त्यसको भोलिपल्ट राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिद्वारा आयोजित प्रतिबद्धतासभामा कमल थापा सहभागी भएका थिए।

राजसंस्था पक्षधर शक्तिहरूले मिलेर अहिलेको व्यवस्थालाई ूधक्का दिनेू बताउने गरे पनि कतिपय राजनीतिक विश्लेषकहरूले त्यसको सम्भावना नदेखिएको टिप्पणी गर्दै आएका छन्।

विश्लेषक गौतम राजावादीहरूको प्रदर्शनप्रति सरकार धेरै प्रतिक्रियात्मक हुन जरुरी नभएको बताउँछन्।

‘लोकतन्त्रमा प्रदर्शनहरू हुन्छन् नै। त्यसप्रति सरकारले धेरै प्रतिक्रिया जनाइरहनुपर्दैन जस्तो मलाई लाग्छ,’ उनले अगाडि थपे।

बीबीसी 

सोमबार, ०८ बैशाख २०८२, १० : ३४

प्रतिक्रिया