अन्योलमा रास्वपा, पार्टीको भविष्य संकटोन्मुख

सोमबार, ०८ बैशाख २०८२, १३ : २६

काठमाडौं- गत निर्वाचनमा अप्रत्याशित नतिजा ल्याएर संसदको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संकटमा फस्दै गएको छ । सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेपछि अहिले पनि उनी प्रहरी हिरासतमा छन् । सभापति लामिछानेलाई सहकारी ठगीको आरोप लाग्नु तथा केही चर्चित नेताहरु पार्टीबाट बाहिरिनुले रास्वपाको दुरदिन सुरु भएको चर्चा चलेकोे छ । केही दिन अघि मात्रै सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामाले त झन पार्टी भित्र तंरग नै ल्याइदिएको छ । 

श्रेष्ठले राजीनामा दिनुको अर्थ भविष्यमा उनी पार्टीबाट नै अलग हुने मनसायमा रहेको प्रष्ट हुन्छ । यसरी रास्वपाका प्रभावशाली नेता पार्टीबाट अलग भएमा २०८४ को निर्वाचनसम्म रास्वपा नेता विहिन बन्ने सम्भावना बढेको छ । अहिलेसम्म अनिल केशरी साह, डा. मुकुल ढकाल, ढाका कुमार श्रेष्ठ लगायतका नेताहरु पार्टीबाट अलग भइसकेका छन् । खास गरी पुराना राजनीतिक दलहरुलाई टक्कर दिने लक्ष्यका साथ स्थापना भएको रास्वापा संकटको भूमरीमा फस्दै गएको छ । स्थापना भएको ६ महिनामै प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित नजिता हासिल गरेपछि कतिपयले रास्वपा जबर्जस्त वैकल्पिक शक्तिको रुपमा उदाएको अनुमान गरेका थिए । 

समकालिन राजनीतिक दलहरु सत्ता स्वार्थ भन्दा माथि उठ्न नसकेको भन्दै रास्वपाले आफूलाई नयाँ परिवर्तनकारी शक्तिको रुपमा देखाउन खोजेको थियो । तर उसको सत्ताप्रतिको मोह पनि पुराना दलहरु भन्दा कम देखिएन, जसका कारण रास्वपा पनि पुरानै दलहरुको बाटामो हिड्न थालेको भाष्य समेत निर्माण भएको छ । 

लामिछानेले पत्रकारितामा हासिल गरेको लोकप्रियताको भरमा रास्वपाले राजनीतिमा सुखद इन्ट्री गरेको थियो । तर, सभापति लामिछाने नै विभिन्न आरोपमा मुछिएर पटक–पटक हिरासत पुगेपछि रास्वपाको अहिले कन्तविजोग भएको छ । कुनै बेला विभिन्न राजनीतिक दलका नेताहरु रास्वपामा जान लालाहित भएका थिए, तर पछिल्लो समय रास्वपाको क्रेज घट्दै गएको विश्लेषण हुन थालेको छ । 

राजनीतिक विश्लेषक जैनेन्द्र जीवन रास्वापाको लोकप्रियताको ग्राफ निरन्तर ओरालो लागेको बताउँछन् । यही अवस्था रह्यो भने आगामी निर्वाचनसम्म रास्वपाको स्थीति झन कमजोर हुने उनको बुझाई छ । ‘समकालिन दलहरुप्रतिको वितृष्णा कारण रास्वपाले क्षणिक लोकप्रियता हासिल गरेको हो, तर नेतृत्वको अदुरदर्शीता र संगठन कमजोर हुँदा पार्टी गम्भीर मोडमा पुगेको छ ।’ उनले भने । सभापति लामिछानले हिरासतमा हुँदा पनि अन्यलाई सभापतिको  जिम्मेवारी नदिनु पनि रास्वपाको अर्को कमजोरी हो । 

रास्वपाको सत्ता लिप्सा र लामिछानेको महत्वकांक्षा 

रास्वपामा पनि अन्य दलहरुकै जस्तो सत्ता बाहिर बस्न नसक्ने चरित्र देखियो । जुन उसका लागि आत्मघाति सावित हुन गयो । संसदको चौथो दल रास्वपाका सभापति गृहमन्त्रीको लोभमा फसेर सरकार सामिल भए । तर, रास्वपाको सत्ता मोहले समर्थन र आम जनतामा भने राम्रो सन्देश जान सकेन । रास्वपा पनि आखिर सत्ताकै लागि लडाई गरिरहेको छ भन्ने भान जनतालाई भयो । 

राजिनीतिक विश्लेषक जीवन भन्छन्, ‘अपराध लुकाउन रास्वपाले जसरी सत्ताको साहारा लियो त्यही नै उसका लागि घातक बन्यो ।’  सभापति लामिछानेको महत्वकांक्षाले पनि पार्टीलाई कमजोर बनाउन ठूलो भूमिका निर्वाह ग र्‍यो। लामिछानेलाई पनि महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सपना जाग्यो । त्यसको लागि उनी जो संग पनि सत्ता सहकार्य गर्न तयार भए । 

२०७९ पुस १० माओवादी, एमाले, रास्वपासहितको सत्ता गठबन्धन निर्माण भयो । लामिछाने गृह मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्न सफल भए । उनलाई गृहमन्त्री बनाउनमा एमाले अध्यक्ष केपी ओलीको भूमिका महत्वपूर्ण रह्यो । 

जसको विरोध गरेर रास्वपा चौथो शक्ति बनेको थियो उनीहरुकै काध चढेर सत्ताको रथमा सवार भएपछि उसको जनमत र क्रेज डाउन भयो । विगतका कमजोरीलाई सच्चाएर अगाडि बढ्न सकेन भने रास्वपा पनि इतिहासको गर्भमा विलिन हुने निश्चित छ ।

 
 
 
 
सोमबार, ०८ बैशाख २०८२, १३ : २६

प्रतिक्रिया