काठमाडौं- राष्ट्र बैकको गभर्नर चयनको विषय पेचिलो बन्दै गएको छ । गभर्नर महाप्रसाद अधिकारी अनिवार्य अवकासमा गएपछि एक महिनादेखि राष्ट्र बैंक नेतृत्व विहिन बनेको छ । केही दिन अघि सरकारले निलम ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी दिएको छ ।
राष्ट्र बैंक निमावली अनुसार गभर्नरको पदावधि सकिन एक महिना अगाडि नै नयाँ गभर्नर नियुक्त गर्नु पर्ने व्यवस्था छ । तर, राजनीतिक दलहरुबीच भागबण्डा नमिल्दा अहिलेसम्म गभर्नर नियुक्तिमा सकस पैदा भएको छ । नेपाली कांग्रेस र एमालेबीच राष्ट्र बैंक निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर बन्ने सहमति भएको छ ।
गभर्नर बन्ने सुइको पाएपछि भट्टले निर्देशकबाट राजीनामा दिइसकेका छन् । कानूनी अड्चन हटाएर गभर्नर बन्नका लागि भट्टले राजीनामा दिएपनि हालसम्म स्वीकृत भएको छैन् । विगतको नजिर अनुसार राष्ट्र बैंकको डेपुटी गभर्नर नै गभर्नर बन्ने मान्यता छ । तर, यस पटक राजनीतिक दलहरुले त्यसलाई लत्याउँदै वरियतामा तेस्रो स्थानमा रहेका भट्टलाई नियुक्ति गर्ने खोजेको भन्दै सरकारको आलोचना समेत भएको छ ।
भट्ट गभर्नर बन्न अयोग्य रहेको भन्दै सर्वोच्च अदालतमा रिट समेत दायर भएको छ । उक्त मुद्दाको सुनवाइ प्रक्रिया अहिले जारीे छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच सहमति भएकाले गभर्नरमा भट्टको सम्भावना बलियो रहेको स्रोतको भनाइ छ ।
यद्यपि, सर्वोच्चको फैसलाले पनि भट्टको नियुक्तिमा असर पार्ने सम्भावना छ । सोमबार साझ बस्ने मन्त्रीपरिषद्ले गभर्नरको नियुक्ति गर्ने सम्भावना प्रवल भएकाले कसले वाजी मार्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन् । तर, बाहिरी चर्चा र राजनीतिक दलहरुबीचको बार्गेनिङले भट्ट गभर्नर बन्ने सम्भावना बलियो छ ।
प्रतिक्रिया