विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसर सिर्जना गर्नु पर्ने: अध्यक्ष ढकाल

सोमबार, ०८ बैशाख २०८२, १७ : २२

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकिएको सीप र अनुभवलाई स्वदेशमै प्रयोग गरी रोजगारी र आर्थिक अवसरहरू सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित “नेपाल महोत्सव २०२५” लाई सम्बोधन गर्दै अध्यक्ष ढकालले योजना, दूरदर्शिता र विविधीकरणमार्फत नेपाललाई समृद्ध बनाउने खाका प्रस्तुत गरे।

उनले भने, ‘योजनाबद्ध दीर्घकालीन सोच विना विकास सम्भव छैन। विकासका लागि दूरदर्शी र स्थिर नेतृत्व आवश्यक हुन्छ भन्ने कुरा हामीले दुबईबाट सिक्न सक्छौं। तेलमा मात्र निर्भर भएको युएईले आफ्नो अर्थतन्त्रको विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्ट सिटी र व्यापार जस्ता क्षेत्रमा ध्यान दिइरहेको छ। दुबईलाई विश्वको व्यापारिक हब बनाएको छ। हामीले पनि हाम्रो देशको सम्भावनाहरूको विविधीकरण गर्न सक्नुपर्छ।’

नेपालमा ऊर्जा, पर्यटन, कृषि र सूचना प्रविधिजस्ता क्षेत्रमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउन सके नेपालभित्र रोजगारी सिर्जना र समग्र आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताए।

उनका अनुसार, नेपालको कला, संस्कृति र परम्पराहरू देशका अमूल्य सम्पत्ति हुन्, र यिनलाई विश्वसामु चिनाउन सकिने प्रभावकारी माध्यम हो – अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने यस्ता महोत्सवहरू। नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र यूएईबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने दिशामा निरन्तर कार्य गरिरहेको जानकारी दिँदै अध्यक्ष ढकालले सन् २०२३ डिसेम्बरमा महासंघले अबुधाबीस्थित नेपाली राजदूतावास र दुबई चेम्बर अफ कमर्ससँगको सहकार्यमा “नेपाल–दुबई व्यवसायिक फोरम” आयोजना गरेको स्मरण गरे।

उक्त फोरमले दुई देशका व्यवसायिक नेतृत्वबीच आपसी सहकार्यका सम्भावनाहरू खोज्न र विस्तार गर्न सहयोग पुर्‍याएको अध्यक्ष ढकालको भनाइ थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीको योगदानलाई महासंघले उच्च सम्मान गर्ने जनाएको छ। ‘विदेशमा कार्यरत नेपाली कामदारहरूले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई सघारिरहेको छ। उनीहरूको योगदान दिगो र सम्मानजनक बन्न आवश्यक छ’ अध्यक्ष ढकालले भने।

उनले नेपाल र यूएई दुवैलाई लाभ पुग्ने साझेदारी निर्माण गर्न महासंघ कटिबद्ध रहेको पनि स्पष्ट पारे।

सोमबार, ०८ बैशाख २०८२, १७ : २२

प्रतिक्रिया