काठमाडौं- शिक्षकहरुले शिक्षा ऐनको माग गर्दै २० दिनदेखि जारी आन्दोलनको क्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छिन् । उनको राजीनमालाई लिएर एमालेकै नेताहरुको अलग अलग धारणा सार्वजनिक भइरहेको छ ।
एमाले नेता महेश बस्नेतले मन्त्री भट्टराई कार्यसम्पादनमा कमजोर रहेकाले राजीनामा दिनु सही निर्णय भएको बताएका छन् । बस्नेतले मन्त्रीको राजीनामा लगत्तै सामाजिक सञ्जालबाट राजीनामा दिनु सही भएको बताएका हुन् ।
नेता बस्नेतले लेखेका छन्, ‘मन्त्री भएको बेला देखिनै उहाँको कार्य सम्पादनमा कमजोरी रहेको, कार्यशैलीप्रति जनगुनासो ब्यापक बढेकै थियो। अबको चुनौती भनेको शिक्षा क्षेत्रलाई स्थायित्व दिने, शिक्षकहरूको मागलाई सम्बोधन गर्ने र शिक्षा नीति सुधार गर्ने नेतृत्व छनोट गर्नु पर्दछ।’
अर्का एमाले सांसद समेत रहेका नेता सूर्य थापाले भने राजीनामा दिन जरुरी नरहेको भन्दै राजीनामा स्वीकृत नगर्न सुझाब दिएका छन् । सांसद थापाले सामाजिक सञ्जालमार्फत राजीनामा असान्दर्भिक र अनपेक्षित रहेको बताउँदै शिक्षकका आन्दोलनको माग सम्बोधन गर्न निष्ठाका साथ अघि बढेको जनाएका छन् ।
थापाले फेसबुकमा लेखेका छन्, ‘शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो। उहाँले राजीनामा दिनु जरूरी नै थिएन। मेरो सुझाव छ( उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्म पुगेको छलफल यही रफ्तारमा अघि बढ्नरबढाउन संभव हुनेछ। उहाँले नराम्रो केही गर्नुभएको थिएन। शिष्ट, विनम्र, शालीन, अनुभवी र गंभीर व्यक्तित्वका साथ उहाँले बिना धाकरवाफ बिमारी अवस्था र शल्यक्रियाका बाबजुद यस कामलाई निष्कर्षमा पुर्याउन बडो निष्ठाका साथ कोसिश गर्नुभएको थियोे। ’
प्रतिक्रिया