काठमाडौं- युवा लेखक श्रेयज सुवेदीको पहिलो पुस्तक कथासंग्रह ‘बहुरुपी’ नयाँ प्रयोगसहित सार्वजनिक भएको छ । शनिबार राजधानीका सात स्थानबाट पाठकहरूसँगको अन्तर्क्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै पुस्तक सार्वजनिक भएको हो ।
काठमाडौं बालुवाटारस्थित बुक्स मण्डला, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर र ललितपुरको लबिम मल, चियामाया झम्सिखेल, पिमवहालमा राखिएका बुक स्टलमा पुगेका पाठकले बहुरूपी खरिद गरेका थिए ।
सिनेमाको बजारीकरण गरेजस्तै पुस्तकको प्रचार(प्रसार भएको देख्दा खुसी लागेको स्टलमा पुगेका पाठकहरूले बताए । एक पाठक अंशुले भनिन्, ‘लेखनमा सधैँ नयाँ प्रयोग गर्न रुचाउने श्रेयजको किताब पनि नयाँ तरिकाले भयो, पुस्तकलाई हजारौँ पाठकले माया गरून् ।’
श्रेयजले फरक तरिकाले पुस्तक लोकार्पण भएकोमा खुसी लागेको बताए । उनले भने, ‘मेरा कथामा मेरै शैलीको मेरैपन भएकोले केही फरक होस् भन्ने थियो, आजको लोकार्पणले त्यसको सुरुवात भएको छ ।’
पुस्तक लोकार्पणको परम्परागत शैली त्यागेर अब नयाँ बजार व्यवस्थापनमा लाग्नुपर्ने बताउँछन्, बुकहिलका अध्यक्ष भूपेन्द्र खड्का । उनी भन्छन्, ‘कतिपय पुस्तक राम्रा हुँदाहुँदै पनि लक्षित पाठकसम्म पुर्याउन सकिएको हुँदैन, नयाँ तरिकाले त्यसको प्रचारप्रसार गर्दा के रैुछ भनेर पाठकलाई रुचि हुन सक्छ । बहुरूपीमा हामीले त्यही गरेका हौँ ।’
बुकहिलले आफ्नो महत्त्वाकांक्षी पुस्तकको रूपमा सार्वजनिक गरेको २२८ पृष्ठको पुस्तकको बजार मूल्य ५५५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया