उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ

बुधबार, १० बैशाख २०८२, ११ : ०५

काठमाडौं- स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरू आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर सुधारका कार्यक्रम सञ्चालन गरसँगै कृषकहरू उत्साहित भएका हुन् । 

अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका कृषकहरू आधुनिक खोर निर्माणसँगै उत्पादन बढ्नेमा विश्वस्त छन् । पालिकाले बाख्राको नस्ल सुधार गर्दै व्यवस्थित तरिकाबाट पालन गर्न कृषकलाई प्रेरित गर्दै आएको छ ।

अनुदानमा आधुनिक खोर निर्माण गर्नु भएकी वालिङ नगरपालिका–५ की एकमाया मल्लले आधुनिक खोर निर्माणका कारण गाउँमा छुट्टै खुसीयाली छाएको बताइन् । उनले भनिन्,“अस्तव्यस्त तरिकाबाट बाख्रा पाल्दै आएका थियौँ, अव सजिलो हुने भयो ।” 

अहिले १२ बाख्रा पाल्दै आएकी मल्लले अब खोर निर्माणसँगै बाख्राको सङ्ख्या थप्ने बताइन् । गाउँका धेरै बाख्रा पालक कृषकले खोर बनाउने योजना बनाएको उनको भनाई छ । मल्ल स्थानीय दिप्का बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहको अध्यक्ष हुन् । ३० जना महिला आबद्ध रहेको समूहका सदस्यहरू उत्पादन बढाउने अभियानमा लागेको समूहकी सचिव मथुरा शाहीले बताइन् । 

वालिङ नगरपालिका–५ मा १० जना कृषकले आधुनिक खोर निर्माण गरेका वडा अध्यक्ष छविलाल आलेले बताए । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहकार्यमा सञ्चालन भइरहेको ‘वालिङ कृषि विकास परियोजना’मार्फत आधुनिक खोर निर्माण गरिएको उनको भनाई छ । कृषकले ५० प्रतिशत अनुदानमा बाख्राको खोर निर्माण गरेका हुन् । 

बाख्राको नस्ल सुधार गर्दै उत्पादन बढाउने योजनाका साथ नगरपालिकाले वडा नं १ देखि ७ सम्म विशेष योजना बनाएर काम गरिरहेको नगरप्रमुख कृष्ण खाँणले बताए । उनले भने,“साझेदार संस्थाहरूसँग मिलेर महिलालाई उत्पादनमा जोड्ने अभियान सुरु गरेका छौँ ।” वडाको पकेट क्षेत्र नै छुट्टाएर कृषि र पशुको क्षेत्रमा काम गरिरहेको प्रमुख खाँणको भनाई छ ।

बाख्रा पालनलाई व्यावसायिक बनाउँदै उत्पादन बढाउने उद्देश्यले आधुनिक खोर निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । निर्वाहमुखी कृषि प्रणालीमा परिवर्तन गरी साना कृषकलाई आर्थिक रूपमा सबल बनाउने पालिकाको योजना रहेको उनको भनाई छ ।

नगरपालिकाले सञ्चालन गरिरहेको परियोजना मार्फत वडा नं.४,५ र ६ मा गरी २६ वटा आधुनिक बाख्राको खोर निर्माण गरिएको नगरपालिकाका पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताए । आधुनिक खोर निर्माणसँगै कृषकलाई बाख्रा पाल्ने तरिका र सरसफाइ सम्बन्धी जानकारी दिँदै आएको उनको भनाई छ ।

बुधबार, १० बैशाख २०८२, ११ : ०५

प्रतिक्रिया