भारत र अमेरिकाबीच व्यापार सम्झौताको रूपरेखामा सहमति

बुधबार, १० बैशाख २०८२, १२ : १८

काठमाडौं- भारत र अमेरिकाबिच वार्ता भइरहेको व्यापार सम्झौताका सर्तहरूलाई अन्तिम रूप दिइएको र दुवै देशले त्यसमा सहमति जनाएको अमेरिकी उपाध्यक्ष जेडी भान्सले बताएका छन् । अहिले भारत भ्रमणमा रहेको भान्सले जयपुरमा आयोजित एक कार्यक्रममा बोल्दै यो कुरा भनेका हुन् ।

‘राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीले फेब्रुअरीमा घोषणा गरेका थिए कि दुवै देशले यस दशकको अन्त्यसम्ममा आफ्नो द्विपक्षीय व्यापारलाई पाँच खर्ब डलरमा पुर्‍याउन चाहन्छन् । दुवै पक्ष यसप्रति गम्भीर र उत्साहित छन्’ जेडी भान्सले भने । 

दुई सरकारहरूले साझा हितमा आधारित व्यापार सम्झौताका लागि छलफल गरिरहेको र यो नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने, आपूर्ति शृंखलाहरू निर्माण गर्न र दुवै देशका कामदारहरूलाई समृद्ध बनाउनमा केन्द्रित भएको पनि उनले बताए । 

पछिल्लो समय ट्रम्पले ट्यारिफ युद्ध छेडेका छन् । आफूसँग वार्ता गर्न चाहने देशहरूका लागि उनले उच्च पारस्परिक ट्यारिफ तीन महिनाका लागि थाती राखेका छन् । यस्तोमा भारत र अमेरिकाले व्यापार सम्झौताका सन्दर्भ सर्तहरूमा आधिकारिक रूपमा सहमति ठुलो र महत्त्वपूर्ण कदम हो । 

कार्यक्रममा भान्सले देशहरूमाथि ट्यारिफ लगाउने ट्रम्पको कदमको बचाउ पनि गरे । व्यापार सन्तुलनका लागि यो आवश्यक भएको र यसले दुवै देशको भविष्यमा सुधार ल्याउने उनको जिकिर थियो । -एजेन्सी

बुधबार, १० बैशाख २०८२, १२ : १८

प्रतिक्रिया