विप्रेषण भित्रिएर डलर सटही हुँदा बैंकिङ क्षेत्रमा तरलता, व्यवस्थापन गर्न सकस

बुधबार, १० बैशाख २०८२, १५ : १८

काठमाडौं– बैंक तथा वित्तीय क्षेत्रमा पछिल्लो समय अत्यधिक तरलता बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिचेको थियो । राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम खिचेको हो ।

घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । यसको साँवा तथा ब्याज भुक्तानी भने वैशाख २८  मा हुनेछ ।

बैंक तथा वित्तीय संस्थामा रहेको नगद उपलब्धताको अवस्थालाई तरलता भनिन्छ । कुनै पनि सम्पत्तिको तुरुन्त खर्च वा भुक्तानीयोग्य रकममा परिणत हुन सक्ने गुण वा क्षमतालाई तरलता भनिन्छ । बैंकिङ तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पूँजीका रूपमा पनि बुझ्ने गरिन्छ । 

अर्थविद रामेश्वर खनालका अनुसार विप्रेषण भित्रिएर डलर सटही हुँदा तरलता बढ्ने गर्छ । खनाल भन्छन्,  ‘नेपालमा दुई तरिकारले तरलता बढ्छ, एउटा रेमिटयान्स  र अर्को सरकारी खर्च ।’ 

सर्वसाधारणले बैंकमा राखेको निक्षेप, बैंकहरूले केन्द्रीय बैंकमा राखेको रकम, बजारमा खरिद–बिक्री भइरहने वित्तीय उपकरण र सुनचाँदी जस्ता बहुमूल्य धातुमा अत्यधिक तरलता गुण हुन्छ ।

अर्थविद् डा. डिल्लीराज खनाल पनि बजारमा लगानीको माग नभएकाले तरलता बढेको बताउँछन् । उनी भन्छन्, ‘लगानीको माग घट्नुको मुख्य कारण बजारमा लगानी फिर्ता आउँछ भन्ने विश्वास लगानीकर्तामा नहुनु हो ।’ 
 
पछिल्लो समयम बैंकिङ तरलता अधिक भए पनि त्यसलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा चाहिने तरलता पठाउने, अधिक भएको समयमा प्रशोचन गर्ने कार्य खुला बजार कारोबार हो ।

राष्ट्र बैंकले खुला बजार कारोबार मार्फत तरलता प्रवाह गर्ने रिपो र सोझै खरिद उपकरण प्रयोग गर्छ । तरलता प्रशोचनका लागि रिभर्स रिपो, सोझै बिक्री, निक्षेप संकलन उपकरण र नेपाल राष्ट्र बैंक ऋणपत्रको प्रयोग गर्ने गर्छ ।

हाल बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि राष्ट्र बैंकले निरन्तर तरलता प्रशोचन गर्दै आएको छ । तरलता प्रशोचन गर्ने चार औजारमध्ये राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरिरहेको छ । बोलकबोल माध्यम र निक्षेप संकलन दरमा पनि राष्ट्र बैंकले तरलता प्रशोचन गर्छ ।

 
 
बुधबार, १० बैशाख २०८२, १५ : १८

प्रतिक्रिया