काठमाडौं– सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङ झुट बोल्ने मन्त्रीको पहिचान बनाएका छन् । उनले बाहिर सार्वजनिक भइसकेको विषयमा समेत सरकारलाई जानकारी नभएको झुटो अभिव्यक्ति दिँदै आएका छन् ।
बुधबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सर्वत्र छाइसकेको शिक्षा मन्त्री विद्या भट्टराईको राजीनामा बारे सरकारलाई जानकारी नभएको झुटो अभिव्यक्ति दिए । उनको यो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको छ ।
जबकि शिक्षा मन्त्री भट्टराईले स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री समक्ष राजीनामा बुझाएको उनको सचिवालयले पुष्टि गरिसकेको छ । शिक्षा मन्त्रालयको जिम्मेवारी पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई तोकिएको विषय बाहिरिसकेको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आफूसँग असन्तुष्टि बढेर शिक्षा मन्त्रीले राजीनामा नदिएको भन्दै सार्वजनिक रुपमा स्पष्टीकरण दिइसकेका छन् ।तर, मन्त्री गुरुङ भने सरकारलाई जानकारी नै नभएको भन्दै गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका छन् ।
यस अघि सबै सञ्चार माध्यममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विषय सार्वजनिक हुँदा पनि मन्त्री गुरुङले अनविज्ञता प्रकट गरेका थिए । तर त्यसको अर्को दिन कुलमान बर्खास्त गर्ने मन्त्रिपरिषदको निर्णय बाहिरिएको थियो ।
पटक पटक भुट र अस्वाभाविक अभिव्यक्ति दिएर आफ्नो व्यक्तित्व गिराएका मन्त्री गुरुङले यस अघि प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने भन्दै जनताहरुलाई उक्साएका थिए ।
गण्डकी प्रदेशको एक कार्यक्रममा उनले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने अराजक अभिव्यक्ति दिँदै आम प्रदेशवासीहरुलाई त्यसतर्फ दुरुत्साहित गरेका थिए ।
कार्यपालिकाको सदस्य भएर मुलुककै एक प्रमुख सुरक्षा निकायका प्रमुखको मानमर्दन गर्ने उनको त्यस अभिव्यक्ति पनि निकै विवादमा आएको थियो । त्यस बेला उनको मन्त्री पद नै धरापमा परेको थियो । उनलाई प्रधानमन्त्री ओलीले बोलाएर स्पष्टीकरण समेत सोधेका थिए ।
आगामी दिनमा अन्टसन्ट नबोल्ने प्रतिज्ञा गरेर पद जोगाएका मन्त्री गुरुङ आफ्नै झुट र अस्वाभाविक अभिव्यक्तिले विश्वसनियता गुमाउँदै गएका छन् । ओली सरकारमा रहेका इमान्दार मन्त्रीहरुलाई परिणाममुखी काम गर्न नदिएर राजीनामा दिन बाध्य पार्दै सरोकारवालाका मागहरुप्रति बेवास्ता गर्दै आएको छ ।
शिक्षकहरु कक्षाकोठा छाडेर सडकमा ओर्लिएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले उनीहरुको मागमा कुनै चासो नदिएर गैरजिम्मेवारपन देखाएको छ । यता सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङ भने भुटो सूचना बाँडेर आफ्नो विश्वसनियता गुमाएरै भए पनि ओली सरकारको क्षणिक प्रतिरक्षा गर्ने दाउमा लागेका छन् । तर, सत्य उजागर भएपछि पूर्ववत अभिव्यक्ति आफ्नै लागि प्रत्युत्पादक हुने हेक्का उनलाई कति छ ?
ओली सरकारविरुद्ध चौतर्फी आक्रोश बढिरहेको बेला छलछाम गरेरै केही समय सूचना लुकाउन खोजे पनि अन्ततः सत्य उजागर भएपछि उनको त्यो प्रयास निरर्थक सावित भएको छ । जनस्तरबाट सर्वाधिक विरोध प्रकट भएका ओली सरकारका पछिल्ला निर्णय एवं क्रियाकलाप भुटो बोलेरै भए पनि जोगाउन खोजेका सञ्चारमन्त्री गुरुङ सत्य उदांगो भएपछि लज्जाबोध हुनुपर्ने हो । तर, नेपालमा नैतिकता भन्ने शब्द शब्दकोषमै सीमित गरेर मात्रै राजनीतिमा होमिने प्रवृत्ति छ ।
प्रतिक्रिया