रघुजी पन्त : माधव नेपाललाई उक्साएर पार्टी फुटाए, एमालेमै रहेर मन्त्री उपहार पाए

विहीबार, ११ बैशाख २०८२, १२ : ३१

काठमाडौं- नेकपा(एमाले)का नेता एवं समानुपातिक सांसद रघुजी पन्त शिक्षा मन्त्री नियुक्त भएका छन् । शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि पन्तले उक्त मन्त्रालयको जिम्मेवारी सम्हाल्ने असर पाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निकै प्रतिकुल समयमा पन्तलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिएका छन् । शिक्षकहरुले पठनपाठन छाडेर करिब एक महिनादेखि सडकमा ओर्लिएका छन् । उनीहरु आफ्ना माग पूरा नहोउञ्जेल विद्यालय सञ्चालन नगर्ने अडानमा छन् । 

शिक्षकहरुको आन्दोलनले एसइईको उत्तरपुस्तिका परीक्षण गर्ने काम समेत प्रभावित भएको छ । कक्षा १२ को परीक्षा सञ्चालन समेत अन्योलमा छ । यस्तो प्रतिकुल अवस्थामा शिक्षा मन्त्रालय सम्हाल्न लागेका पन्त तत्कालीन एमालेका नेता माधव कुमार नेपालको विश्वासपात्र हुन् । 

माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेपछि पन्त तत्कालीन नेकपाका पहिलो अध्यक्ष हालका प्रधानमन्त्री ओलीको कटु आलोचक थिए । दुई अध्यक्षात्मक प्रणाली रहेको तत्कालीन नेकपामा ओलीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका थिए । माधव नेपाल निकट रहेका पन्त अर्का अध्यक्ष प्रचण्ड निकट रहेर ओलीविरुद्ध मोर्चाबन्दी गरेका थिए ।

ओलीको प्रधानमन्त्रीत्वकालमा भएको दुई पटकको संसद विघटनको क्रममा पन्त सडकमा ओर्लिएका थिए । दुई पटक नै ओलीको संसद विघटन सर्वोच्च अदालतले उल्ट्याएपछि पन्त प्रचण्ड माधव खेमासँगै रहेर प्रतिगमन पराजित भएको भन्दै उत्सव मनाएका थिए ।

तर, माधव नेपाल एमालेबाट बाहिरिने अन्तिम समयमा भने पन्तसहितका दश भाई (दश जना माधव नेपाल पक्षीय नेता ) एमालेमै रहेका थिए । ओलीसँगको अन्तरविरोधमा सर्वाधिक ओली विरोधीको पहिचान बनाएका पन्त पार्टी विभाजन गर्न माधव नेपाललाई उक्साएर एमालेमै रहेका थिए ।अहिले उनै पन्तलाई ओलीले शिक्षा मन्त्री नियुक्त गरेका छन् । 

एमालेबाट माधव नेपाल प्रधानमन्त्री हुँदा पन्त उनको राजनीतिक सल्लाहकार भएका थिए । सधैं ओली विरोधी नेताको पहिचान बनाएका पन्त उनै ओलीको आर्शीवादले मन्त्री हुने अवसर पाएका छन् । यसलाई कतिपयले पन्तप्रति ओलीको सदाशयता भन्दा पनि प्रतिकूल अवस्थामा जिम्मेवारी दिएर संकटमा पारेको आँकलन समेत गरेका छन् ।
 

विहीबार, ११ बैशाख २०८२, १२ : ३१

प्रतिक्रिया