लोकतन्त्र दिवसबारे राप्रपा‌ केन्द्रीय सदस्य हमालको टिप्पणी– यो शान्ति दिवस हो

विहीबार, ११ बैशाख २०८२, १२ : ५८

काठमाडौं– आज वैशाख ११ गते लोकतन्त्र दिवस हो । ६२ ६३ सालको भएको जनआन्दोलनका कारणले तत्कालीन राजा ज्ञानेन्द्रले संसद पुनस्थापना गरेको दिनलाई नेपालमा लोकतन्त्र दिवस मानिन्छ ।

गणतन्त्रवादी राजनीतिक दलहरूले आज लोकतन्त्र दिवस मनाइरहँदा राजसंस्थाको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्यसमिति सदस्य रवि किरण हमालले शान्ति दिवस भएको एक विज्ञप्ति मार्फत बताएका छन् ।

उनले शान्तिको लागि माघ १९ र वैशाख ११ गते राजाका तर्फबाट ऐतिहासिक निर्णय भएको समेत दाबी गरेका छन् । 

‘२०६१ साल—मुलुक हिंसा, अन्योल र विघटनको चपेटामा थियो। माघ १९ को हस्तक्षेपले राष्ट्रिय राजनीति र विद्रोह दुबैलाई संवादतर्फ मोड्यो। त्यसैको फलस्वरूप २०६२र६३ मा जनआन्दोलन सम्भव भयो, र शान्तिको ढोका खुल्यो।’ 
उनले विज्ञप्तिमा लेखेका छन् ।

शान्तिको नाममा राजनीतिक दलहरूले  जबरजस्त  धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता जस्ता जनइच्छा विपरीत स्थापित गरेको समेत उनले आरोप लगाएका छन् । जसका कारण मुलुक आज अस्थिरता, विघटन र असफलताको घेरामा पुगेको किरणको दाबी छ। उनले अब संविधान पुनर्लेखन गर्नुपर्ने माग अगाडि सारेका छन्। 

‘अबको यात्रा संविधान पुनर्लेखनमार्फत माटो सुहाउँदो, जनभावनामा आधारित, स्थायी राजनीतिक संरचना निर्माणको दिशातर्फ जानुपर्छ।’, विज्ञप्तिमा लेखिएको छ ।

विहीबार, ११ बैशाख २०८२, १२ : ५८

प्रतिक्रिया