भूकम्पको १० वर्ष : पीडितको घाउमा लागेन मलमपट्टी, सरकार अलमलमै

शुक्रबार, १२ बैशाख २०८२, १२ : १७

काठमाडौं– २०७२ बैशाख १२ मा आएको विनाशकारी भूकम्प गएको एक दशक पुरा भएको छ । २०७२ मा गएको विनाशकारी भूकम्प यस शताब्दीकै महाविपत्ती हो । भूकम्पका कारण ९ हजार भन्दा बढी मानिसको ज्यान ज्यानुका साथै हजारौ ऐतिहासिक र पुरातात्विक सम्पदामा क्षति पुग्यो । 

मानिसका निजी घरहरु भत्किएपछि लाखौ जनताको सडक र खुला आकाशमुनी वास भयो । भूकम्प लगत्तै सरकारले पुनर्निर्माण अभियान सुरु गरेको थियो । तर, अझै पनि पुनर्निर्माण सकिएको छैन् भने हजारौ पीडितहरु अझै पनि पुनर्निर्माणको प्रतिक्षामै छन् । भूकम्पमा आठ हजार ९ सय ७० जनाले ज्यान गुमाएका थिए भने २२ हजार भन्दा बढी घाइते भएका थिए ।  भूकम्पबाट पाँच लाख ११ हजार ३९० घर पूर्ण रूपमा क्षति भएको थियो भने दुई लाख ८६ हजार ७६७ घरमा आंशिक क्षति पुर्‍याएको थियो ।

भूकम्पको एकै झड्काले त्रिपालको बास गराइदियो । ओत लाग्ने दरिलो छानो पनि भएन । केही समयपछि बेसहारा परिवारलाई राहत दिने भन्दै नेपाल सरकार तीन लाखको प्याकेज लिएर गयो । पैसासँगै मापदण्ड तोकिदियो । सरकारले दिएको सानो राहत प्याकेजले कसैले टिनको छानो हालेर ओत लाग्ने ठाउँ बनाए भने कसैले कर्जा लिएरै भएपनि राम्रै घर निर्माण गरे । 

भूकम्पले घरभित्रको सबै समान नष्ट भएपछि पीडितको जीवनमा ठूलै बज्रपात पर्‍यो। पीडितहरुका लागि भूकम्पपछि दिनहरु निकै सकसपूर्ण र उराठ लाग्दा भए । सरकारले  राहत दिनेआशामा पीडितहरुले कैयौं दिन खुला आकाशमुनि दिन कटाए । 

२०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ ले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू भत्काएको थियो । कतिको छानो खोस्यो । कतिको हाँसो । कसैको आफन्त खोस्यो । अनि कतिलाई घाइते बनायो ।

भूकम्पको दशक बित्दा पनि घाउ अझैं निको भएको छैन । राजधानीका गल्लीगल्लीमा, पहाडी गाउँका पाखापखेरामा अझैं भत्किएका घरहरू ठडिन सकेका छैनन् । जहाँ घरभन्दा धेरै सम्झनाहरू ढलेका थिए । दशक बित्दा पनि नेपालीहरू पुनर्निर्माणको पर्खाइमा रहेका छन् । ।

अझै भूकम्पका कारण भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनको पुनर्निर्माणकै क्रममा छन । भूकम्पले करिब १० लाख निजी आवास, सात हजार ५५३ विद्यालय, ४९ हजार ६८१ कक्षाकोठा, पाँच सय ४४ स्वास्थ्य संस्थामा पूर्ण क्षति, छ सय ५३ स्वास्थ्य संस्थामा आंशिक क्षति भएको थियो । 

यसैगरी चार सय १५ सरकारी भवन, विश्व सम्पदा क्षेत्रका एक सय ७० सम्पदासहित नौ सय २० सांस्कृतिक सम्पदा र सुरक्षा निकायका तीन सय ८३ भवनमा क्षति पुगेको थियो । तीन हजार २१२ खानेपानी संरचना, ५३ सडक र दुई सय ९९ मानव बस्तीमा क्षति पुगेको थियो ।

सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको कार्यान्वयन एकाइ (भवन तथा आवास) तथा त्यसअन्तर्गतका निकायबाट सम्पादन भएका आयोजनाको विवरण सार्वजनिक गरेको छ । एकाइका अनुसार निजी आवास पुनर्निर्माणतर्फ आठ लाख ३५ हजार १८५ लाभग्राही पहिचान भएकामा आठ लाख ३४ हजार २६७ जनाले पहिलो किस्ता प्राप्त गरेका छन् । 

पहिलो किस्ता प्राप्त गर्नेमध्ये सात लाख ७० हजार ७७५ (९२.४) प्रतिशतले दोस्रो किस्ता र सात लाख ४३ हजार २४९ (८९.१ ) प्रतिशतले तेस्रो किस्ताबापतको अनुदान रकम प्राप्त गरेका छन्। पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत गोविन्द पोखरेल नेपालले स्रोत साधन कम हुँदा पनि भारतले गरेको भन्दा गतिलो पुनर्निर्माण गरेको बताउँछन् । 

‘व्यक्तिका घरहरु र साना संरचना निर्माणको दायित्व स्थानीय सरकार र ठूला सम्पदा पुर्ननिर्माणको दायित्व संघ सरकारले लिनुपर्छ ।’ उनले भने । सरकारले सबै घर निर्माण गर्न सक्दैन तर, अति विपन्न परिवारहरुको घर सरकारले निशुल्क निर्माण गरिदिनुपर्ने उनको राय थियो ।

नेपालमा अझैं पनि भूकम्पको ठूलो जोखिम रहेको विज्ञहरुले बताउँदै आएका छन् । तर, त्यसको सामाना गर्न विगतका विपत्तिबाट सरकारले कुनै पाठ सिकेको छैन् । जसका कारण भविष्य आउने यस्ता भुकम्पहरुको सामाना गर्न पनि सरकारले कुनै पूवतयारी गरेको छैन् । भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि सरकार गुरु योजनाका साथ अगाडि बढ्नुको विकल्प छैन् ।

 
 
 
 
 
 
 
शुक्रबार, १२ बैशाख २०८२, १२ : १७

प्रतिक्रिया