काठमाडौं– चैत १५ गते तीनकुनेको राजावादी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले भाटभटेनी सुपर मार्केट लुटपाट गरेका थिए । उक्त लुटपाटमा संलग्न कतिपयलाई प्रहरीलाई पक्राउ गरेर छाडिसकेको छ भने केही थुनामै छन् ।
त्यसमध्ये अधिकांश राजावादी समर्थक भन्दा पनि विभिन्न पृष्ठभूमिका रहेको खुलासा भइरहँदा शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस सहमहामन्त्रीका छोरा पनि संलग्न रहेको आरोप लगाएका छन् ।
शुक्रबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनमा बोल्दै अध्यक्ष लिङ्देनले भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा सहमहामन्त्रीका छोरा पक्राउ परेको र प्रहरीले तुरुन्तै छाडिदिएको जिकिर गरे ।
लिङ्देनले आफूसँग सो विषयको रेकर्ड समेत भएको दाबी गरे । ‘हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू । भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन्,’ उनले भने, ‘किन छाड्नुभयो तुरुन्तै ?’
पक्राउ परेका सहमहामन्त्रीका छोराको नाम भने उनले खुलाएनन् । स्रोतका अनुसार कांग्रेस सह-महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनी लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । तर गृहमन्त्री रमेश लेखकको दबाबपछि गुपचुपमा छाडिएको हो ।
कांग्रेसमा ८ जना सहमहामन्त्री रहेका छन् ।यादवसहित फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठोर, बद्री पाण्डे र जीवन परियार रहेका छन् । उनीहरु कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया