काठमाडौं- जन्म दिने आमाप्रति श्रद्धा र प्रेम व्यक्त गर्दै एभरेस्ट स्कुल भक्तपुरले मातृ औंसीको अवसरमा भव्य तथा सभ्य कार्यक्रमको आयोजना गर्यो। यस विशेष अवसरमा जे.के.जी कक्षामा अध्ययनरत विद्यार्थीहरूको आमाहरूको उपस्थितिमा मातृत्वको सम्मान गरिएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य आमाहरू र नानीहरू बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनु रहेको स्कुलकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राज भण्डारीले बताए। उनले आमालाई केवल माया र ममताकी खानी मात्र नभई असल संस्कार दिने पहिलो गुरुसमेत भएको उल्लेख गर्दै भने, “नानीहरूलाई कसैसँग तुलना नगरी उनीहरूकै भित्रको क्षमता पहिचान गरौँ। आत्मनिर्भर बनाउन सानै उमेरदेखि शारीरिक सामर्थ्य अनुसार आफ्नो काम आफैं गर्न प्रेरित गरौँ। असल गुण र व्यवहारको खुलेर प्रशंसा गरौँ। मोबाइल र टिभीजस्ता प्रविधिको प्रयोग उचित समय सीमाभित्र सीमित गरौँ।”
आमाहरूले यस्ता संस्कारयुक्त कार्यक्रमहरूले आफूहरू र नानीहरू बीचको सम्बन्धलाई अझ सुमधुर बनाएको अनुभव बाँडे। साथै, आ–आफ्ना सन्तानप्रति जिम्मेवारी बोध गर्न पनि थप सहयोग पुगेको प्रतिक्रिया दिए।
कार्यक्रममा विद्यार्थीहरूले आफ्नी आमाप्रति समर्पित गीत, कविता, नृत्य र विभिन्न मनोरञ्जनात्मक प्रस्तुति मार्फत भावनात्मक माहोल सिर्जना गरेका थिए ।
कार्यक्रमको अन्त्यमा एभरेस्ट इङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राज भण्डारीले सम्पूर्ण आमाहरूलाई उपस्थितिको लागि हार्दिक धन्यवाद ज्ञापन गरे। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम गोपाल कर्माचार्यको अध्यक्षतामा सम्पन्न यो कार्यक्रम अत्यन्त सफल र स्मरणीय बन्यो।
प्रतिक्रिया