काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन अधिकारीको निष्ठा, आदर्श, जीवनशैलीलाई व्यवहारमा उतार्न सके राजनीतिप्रति जनताको भरोसा र विश्वास कायम गर्न ठुलो टेवा पुग्ने बताएका छन् ।
शनिबार ललितपुरमा मनमोहन अधिकारीको २६ औँ स्मृति सभालाई सम्बोधन गर्दै भण्डारीले २०५१ सालमा संसद्मा सबैभन्दा ठुलो दलको हैसियतमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सरकार सामाजिक न्याय, सुशासन, पारदर्शिता, समावेशिताको दृष्टिले ऐतिहासिक र अब्बल रहेको बताएकी हुन् । उनले नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिस्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाऊँ, ज्येष्ठ नागरिकहरूका लागि सम्मान वृद्धभत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको स्मरण गरिन् ।
उनले मनमोहन अधिकारीले ल्याएका यी कार्यक्रमहरूको जस अझैसम्म पनि नेकपा एमालेले पाइरहेको जिकिर गरिन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘नेकपा एमालेको उक्त ऐतिहासिक नौ महिने कम्युनिस्ट सरकारले अघि सारेका आफ्नो गाउँ, आफैँ बनाऊँ, ज्येष्ठ नागरिकहरूका लागि सम्मान वृद्धभत्ता र नौ सका कार्यक्रम, सामाजिक, आर्थिक विकासका लोकप्रिय कार्यक्रमले राष्ट्र निर्माणमा जनतालाई परिचालन गर्न सफल भएको थियो । आजको स्थितिमा उहाँ जीवित हुनुहुन्थ्यो भने गणतन्त्रको सुदृढीकरणसँगै समाजवादउन्मुख, सामाजिक, आर्थिक प्रणालीको निर्माणमा उहाँको उल्लेखनीय योगदान हुने थियो ।’
पूर्वराष्ट्रपति भण्डारीले मनमोहन अधिकारी एक राजनीतिक नेता मात्र नभई नेपाली समाजका लागि प्रेरणादायी र आदर्श व्यक्तित्व भएको बताइन् ।
प्रतिक्रिया