भारतसँगको सहकार्यमा स्याटलाइट प्रयोग गरी नेपालको कृषि क्षेत्र पहिचान गरिने

शनिबार, १३ बैशाख २०८२, १० : ५८

काठमाडौं- नेपाल मैदा उद्योग संघ र भारतको कृषि सूचना तथा परामर्श सेवा प्रदायक संस्था एग्रीवाचबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौताअनुसार भू–उपग्रह (स्याटलाइट) प्रविधिको प्रयोग गरी नेपालको कृषि क्षेत्र पहिचान, विश्लेषण र परामर्श प्रदान गरिने छ । निजी क्षेत्रबाट यस प्रकारको पहल पहिलो पटक भएको हो ।

नेपाल मैदा उद्योग सङ्घको २४औं वार्षिक साधारण सभाका अवसरमा शुक्रबार उक्त सम्झौता भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता र संघका अध्यक्ष कुमुद दुगडको सभापतित्वमा भएको साधारण सभामा उक्त सम्झौता भएको हो ।

सम्झौताबाट हुने लाभ
एग्रीवाचसँगको सहकार्यबाट नेपालले कृषि बजार मूल्य सङ्कलन, दैनिक, साप्ताहिक र मासिक बजार विश्लेषण जस्ता सेवा पाउने छ । यसबाट कृषक र व्यापारीलाई सही निर्णय लिन सहयोग पुग्ने विश्वास गरिएको छ ।

यसका साथै, कृषि वस्तुहरूको उत्पादन, उपभोग, आयात–निर्यात विश्लेषण, बजार प्रवृत्तिको मूल्यांकन, बीउ, मल तथा अन्य कृषि निवेशसम्बन्धी अध्ययन र सल्लाह पनि उपलब्ध हुने छन् ।


डिजिटल कृषि समाधानअन्तर्गत एआई–आधारित बाली विश्लेषण, व्यक्तिगत कृषि परामर्श तथा बजार जडान सेवाहरू पनि उपलब्ध हुने छन् । यसले कृषकहरूलाई आधुनिक प्रविधि अपनाउन सहज बनाउने छ र सरकारले भविष्यमा अपनाउनुपर्ने कृषि रणनीति निर्माणमा सघाउने छ ।

शनिबार, १३ बैशाख २०८२, १० : ५८

प्रतिक्रिया