काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं कांग्रेसका पूर्वसभापति तीर्थराम डंगोलको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् । नेता डंगोको निधनमा आज शोक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापति, पूर्वस्वास्थ्य राज्यमन्त्री, मुलुकको लोकतान्त्रिक आन्दोलनका योद्धा डंगोलको निधनको खबरले मलाई अत्यन्त दुखित बनाएको छ । उहाँले कांग्रेसको संगठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीले विर्सने छैन ।’
सभापति देउवाले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । नेता डंगोलको शुक्रबार राति ७७ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीरलाई आज बिहान ११ः०० बजेदेखि नै पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । दिउँसो १ः०० बजेसम्म शव राखिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अपराह्न २ः०० बजे काठमाडौँको टेकु दोभानमा उनको दाहसंस्कार गरिनेछ ।
सभापति देउवाले नेता डङ्गोलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रतिक्रिया