एनसेल एनएसएलः उपाधिका लागि ललितपुर र पोखरा खेल्दै

शनिबार, १३ बैशाख २०८२, १२ : ४४

काठमाडौं- एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज फाइनल खेल हुँदैछ ।

उपाधिका लागि आज साविक विजेता ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले प्रतिस्पर्धा गर्दैछन् । आजको खेल साँझ ६ बजे त्रिपुरेश्वरको दशरथ रंगशालामा शुरू हुनेछ । 

ललितपुर अपराजित रहँदै फाइनलमा पुगेको हो । ललितपुर र पोखराबीच लिग चरणमा भएको खेलमा पोखरा ३–२ गोलले पराजित भएको थियो । पहिलो क्वालिफायरमा ललितपुरले साविक उपविजेता टोली धनगढी एफसीलाई हराएर उपाधि नजिकै पुग्यो ।

पोखरा लिग चरणमा चौथो हुँदै प्लेअफ पुगेको थियो । काठमाडौं रेजर्ससँग समान ८ अंक भए पनि गोलअन्तरमा पोखरा अघि रह्यो ।दोस्रो क्वालिफायरमा साविक उपविजेता धनगढीलाई एक गोलले पराजित गरी पोखरा फाइनल पुगेको हो ।

तेस्रो संस्करणको एनएसएल उपाधि विजेता टोलीले ८० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले जनाएको छ । यस्तै उपविजेताले ३० लाख रुपैयाँ पाउनेछ ।

शनिबार, १३ बैशाख २०८२, १२ : ४४

प्रतिक्रिया