काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पहलगाममा भएको आक्रमणपछि भारतले आधारहीन आरोप लगाएको भन्दै यो बन्द हुनुपर्ने बताएका छन् । उनले पाकिस्तान पहलगाम घटनाको निष्पक्ष अनुसन्धानमा सबै सहयोग प्रदान गर्न तयार रहेको बताएका हुन् ।
बीबीसी उर्दूका अनुसार शाहबाज शरीफले सेना सीमाको रक्षा गर्न तयार रहेको र यसबारे कुनै गलतफहमी हुन नहुने बताए । उनले भने, ‘शान्ति हाम्रो चाहना हो । तर यसलाई हाम्रो कमजोरी मान्नु हुँदैन ।’
शाहबाज शरीफले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई कुनै पनि हालतमा रक्षा गर्ने बताए ।
मंगलबार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो । यसपछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी सीमा बन्द गर्ने लगायतका निर्णय गरेको थियो । यसको जवाफमा पाकिस्तानले पनि धेरै कदम चालेको छ । -एजेन्सी
प्रतिक्रिया