काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरूको माग सम्बोधन गर्नका लागि सरकार तयार नभएको बताएका छन्।
प्रेस सेन्टर नेपालका नवनिर्वाचित पदाधिकारीसहितका सदस्यको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन्।सरकार लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको आरोप प्रचण्डले लगाए।
‘लाज पचाएर शिक्षकहरूलाई अपमानित गर्नेतिर लागेको छ। शिक्षकसँग भएका सहमति अनुसार ऐन दिनैपर्छ। त्यसका लागि छोटो बाटोबाट लानुपर्छ,’ प्रचण्डले भने, ‘शिक्षकहरूलाई विद्यालय फर्काउने वातावरण पनि सरकारले काम गर्नुपर्छ। अदालतले पनि आदेश जारी गरिसकेको छ। त्यो पनि गर्न खोजेको जस्तो देखिँदैन। सरकार त्यसको निम्ति तयार देखिँदैन।’
उनले शिक्षकहरूको माग सम्बोधनको जिम्मेवारीका लागि अघि बढ्न आफूहरू लाग्नुपर्ने बताए।
‘सडक, सदन र मोर्चाबाट पनि देशको विषम राजनीतिलाई सहजीकरण गर्ने जिम्मेवारी पूरा गनुपर्नेछ,’ प्रचण्डले भने।
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा शिक्षकहरूको माग सम्बोधन गर्न सहमति गरेको स्मरण गरे।
उनले भने, हिजो प्रतिपक्षमा हुँदा शिक्षकहरूलाई आन्दोलन किन नगरेको भन्दै उक्साउने मान्छे अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ। अहिले शिक्षकहरू आन्दोलनमा छन्, शिक्षकहरूलाई अपमानित गर्ने काम तिनै प्रधानमन्त्रीबाट भइरहेको छ।’
प्रतिक्रिया