बागमती र रुद्रमति किनारबाट दुई मेट्रिक टन फोहोर व्यवस्थापन

शनिबार, १३ बैशाख २०८२, १५ : ५४

काठमाडौं- राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ काठमाडौँ महानगरपालिका वडा नं १० स्थित रुद्र मति दोभानबाट बुद्धनगरपुलसम्म सफाइ गरी दुई मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । 

बागमती सफाइ महाअभियानको ६२४ औँ हप्तामा यस क्षेत्रमा सफाइ गरिएको हो । सफाइ अभियानबाट व्यवस्थापन गरिएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभागले व्यवस्थापन गरेको बागमती सफाइ अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

वडाध्यक्ष रामकुमार केसीको नेतृत्वमा यस क्षेत्रमा सफाइ गरिएको हो । सफाइमा बागमती प्रदेशका पूर्व पर्यटन तथा संस्कृतिमन्त्री एवं प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हिरालाल तण्डुकार, वडा न १० का सदस्य सतिस तण्डुकारलगायत जनप्रतिनिधि र स्थानीयवासीको पनि सक्रियता थियो । 

आगामी शनिबार ६२५ औं हप्ताको सफाइ बागमती रुद्र मति दोभान वडा नं ११ स्थित शिव मन्दिरबाट बागमती नदी किनारसम्म गरिने जनाइएको छ । त्यस क्षेत्रको सफाइ पनि वडा नं ११ का अध्यक्षको नेतृत्वमा गरिने महाअभियानले जनाएको छ ।

वि.सं २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको हो । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिवार बिहान दुई घण्टा वाग्मती किनारमा नदी सफाइ गरिँदै आएको छ । सफाइमा अभियानकर्मी, जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता रहने गरेको छ । -रासस

शनिबार, १३ बैशाख २०८२, १५ : ५४

प्रतिक्रिया