स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा ‘क्षेत्रीय करेस्पोण्डेन्ट बैंकिङ एकेडेमी’ कार्यक्रम सम्पन्न

शनिबार, १३ बैशाख २०८२, १६ : १८

काठमाडौं– स्ट्यान्डर्ड चार्टर्ड बैंकले क्षेत्रीय करेस्पोण्डेन्ट बैंकिङ एकेडेमी कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा पहिलो पटक बैंकले नियामक निकायहरू तथा प्रमुख वित्तीय संस्थाहरूसँगको सहकार्यमा यस्तो कार्यक्रम गरेको हो।

कार्यक्रममा आसियान तथा दक्षिण एसिया का १५ राष्ट्रका केन्द्रीय बैंक, नियामक निकायका प्रतिनिधिहरू तथा बैंकिङ क्षेत्रका १३० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो । दुई दिने यो कार्यक्रम अप्रिल २४ र २५ मा काठमाडौंमा सम्पन्न भएको थियो।

कार्यक्रमको उद्घाटन नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् मनि लाउन्डरिङ समन्वय समितिका संयोजक फणिन्द्र गौतमले गरेका थिए । उनले नेपालमा यस्तो कार्यक्रम आयोजना गर्नुको आवश्यकतामा जोड दिँदै स्ट्यान्डर्ड चार्टर्ड बैंकले क्षेत्रीय विज्ञहरूलाई सहभागी गराएर महत्वपूर्ण योगदान पुर्‍याएको बताए । साथै, वित्तीय अपराध नियन्त्रणमा सरकार र बैंकिङ क्षेत्रको सघन सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।

कार्यक्रममा विषय विज्ञहरूले नेतृत्व गरेका कार्यशाला, प्यानल छलफल तथा मुद्दा अध्ययन सत्रहरू मार्फत करेस्पोण्डेन्ट बैंकिङ्गको विकासशील परिदृश्य र डिजिटल बैंकिङ क्षमताबारे छलफल भएको थियो । कार्यक्रममा जोखिम व्यवस्थापन, एन्टि–मनी लाउन्डरिङ तथा आतंकवादी वित्त पोषण सम्बन्धी प्रोटोकल, क्रस–बोर्डर कारोबारका चुनौतीहरू, प्रवर्तन कार्यहरू, वित्तीय सन्देश प्रणालीमा नवीनता तथा वैदेशिक विनिमय समाधानहरू लगायतका विषयहरूमा छलफल भएका थिए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोरख राणाले करेस्पोण्डेन्ट बैंकिङ एकेडेमीको उद्देश्य, आतंकवादी वित्त पोषण, प्रतिबन्ध सम्बन्धी ज्ञान नवीकरण र सुदृढ गर्दै वित्तीय प्रणालीलाई सुरक्षित बनाउनु रहेको बताए ।

शनिबार, १३ बैशाख २०८२, १६ : १८

प्रतिक्रिया