भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुँदै

शनिबार, १३ बैशाख २०८२, १६ : ३७

काठमाडौं- भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुने भएको छ । नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिले पत्रकार सम्मेलन गर्दै भक्तपुरमा पहिलो पटक राष्ट्रव्यापी फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिता हुन लागेको जानकारी दिएको हो । 

वैशाख १९ र २० गते दुई दिन भक्तपुरको जगातीमा उक्त प्रतियोगिता गर्न लागेको संघले जानकारी दिएको छ । दुई दिनसम्म चल्ने यस प्रतियोगितामा सातै प्रदेशका २० भन्दा बढी जिल्लाबाट करिब १२० जना खेलाडीहरू सहभागी हुने अनुमान गरिएको आयोजक किक बक्सिङ संघ भक्तपुरका अध्यक्ष कृष्णराम जाकिबञ्जारले जानकारी दिए। 

उनका अनुसार प्रतियोगिताबाट राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरू पहिचान गरी प्रशिक्षण दिई भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्न सक्ने खेलाडी छनोट गर्ने उद्देश्य रहेको समेत जानकारी दिए । 

प्रतियोगिता अन्तर्राष्ट्रिय मान्यताअनुसार तौल तथा वर्गगत रूपमा हुने समेत अध्यक्ष जाकिबञ्जारले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कुल ११ वटा तौल तथा वर्गगत प्रतिस्पर्धाहरू हुने छन् जसमा पुरुष तर्फ ५१ केजी, ५४ केजी, ५७ केजी, ६३.५ केजी, ६७ केजी, ७५ केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुने छ भने महिला तर्फ ५२ केजी, ५७ केजी, ६० केजी र खुल्ला तौल वर्गमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै प्रतियोगिताको विशेष आकर्षणको रूपमा २ वटा प्रो फाइट (व्यावसायिक स्तरका खेल) समेत खेलाइने अध्यक्षले बताए । यस्तो किसिमको भक्तपुरमा पहिलो पटक प्रतियोगिता आयोजना हुन लागेको बताउँदै उनले यस्ता प्रतियोगिताबाट खेलाडी तिखारिने तथा व्यावसायिक रूपमा खेलमा लाग्न सहयोग समेत मिल्ने बताए। 

खेलाडीहरूको सुरक्षालाई मध्यनजर गर्दै आयोजक समितिले प्रत्येक खेलाडीलाई प्रतियोगिता अवधिभर लागू हुने गरी रु २ लाख सम्मको बिमा व्यवस्था गरेको संघका सचिव राजु सिंह बजिकोले जानकारी दिनुभयो । उनका अनुसार प्रतियोगिता विश्व किक बक्सिङ महासंघद्वारा स्वीकृत के–१ नियमावली अनुसार सञ्चालन हुनेछ । 

प्रत्येक बाउट ३ राउन्डको हुने र हरेक राउन्डको अवधि २ मिनेट निर्धारण गरिएको उनले जानकारी दिए।  प्रतियोगितामा खेलाडीहरूलाई शिल्ड प्रमाणपत्र तथा नगद पुरस्कारले समेत सम्मान गरिने उनले बताए । 

शनिबार, १३ बैशाख २०८२, १६ : ३७

प्रतिक्रिया