प्रहरी सर्वसाधारणमाथि निर्घात कुटपिटमा उत्रिँदै, ‘प्रहरी मेरो साथी’ कि त्रासदी ?

आइतबार, १४ बैशाख २०८२, ११ : २०

काठमाडौं– ‘प्रहरी मेरो साथी’ भन्ने आफ्नै संगठनको नारालाई मात खुवाउँदै प्रहरी सर्वधारणमाथि जाइलाग्न थालेको छ । पछिल्ला केही दिन यता सामाजिक संजालमा प्रहरीले सर्वधारणलाई निर्घात कुटपिट गरेका दुई भिडियो भाइरल भइरहेका छन् । सर्वसाधारणलाई बाटोमै कुट्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । 

उनीहरुले काठमाडौंको सुनधारास्थित आकाशे पुलमाथि एक सर्वधारणलाई कुटपिट गरेका थिए । सामाजिक संजालमा भाइरल भिडियोमा चार जना ट्राफिक प्रहरी देखिन्छ । उनीहरुबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ । 

यसको ठिक दुई दिनपछि ट्राफिक प्रहरीले एक सर्वधारणलाई कुटेको भिडियो पनि भाइरल भइरहेको छ । एक जना सहायक हवल्दारले मोटरसाइकल चालकलाई लखेटेर कुटेको भिडियो सार्वजनिक भएको छ ।

प्रहरीको यस हर्कतले उसको प्रतिष्ठामाथि त आँच पु¥याएकै छ, झन त्यसमाथि कानूनी राज्यको धज्जी उडेको छ । जनताको सुरक्षाका लागि खटिएको प्रहरीले किन अनाहकमा नागरिकमाथि डण्डा प्रहार गरिरहेको छ । यसले प्रहरी मेरो साथी कि त्रासदी भन्ने प्रश्न उब्जिएको छ । 

निर्दोष नागरिकलाई सडकमा जनावर कुटे जसरी प्रहरीले मनपरी गरेर के ताण्डव देखाउन खोजेको हो । त्यो उसैलाई थाहा होला तर जनताको करबाट तलब भत्ता खाएर जनतामाथि गरेको यो अत्याचार भने कदापि क्षम्य छैन् । 

यो पनि पढ्नुस्

हतकडी प्रयोगमा प्रहरीको विभेद, सत्ताको आडमा मनपरी

यदि कुनै व्यक्ति दोषी हो भने उसलाई कानून बमोजिम कारबाही गरिनु पर्छ त्यसमा दुईमत छैन् । तर, निर्दोष नागरिकको ढाडमाथि बुट बजारेर प्रहरीले कस्तो बहादुरी देखाउन खोजेको हो । यो विषय चाहिँ प्रहरीको ज्यादतीले निकै रहस्यमय देखिएको छ ।

आज मात्रै होइन प्रहरीबाट विगतमा पनि यस्तै गल्ती भएका कयौं दृष्टान्त छन् । तर, प्रहरी प्रशासन यस्ता कार्यलाई निरुत्साहित गर्नुको सट्टा झन प्रश्रय दिने काम गरिरहेको भान हुन्छ । 

पूर्वडिआईजी हेमन्त मल्ल प्रहरीको यस व्यवहारले राम्रो सन्देश नजाने बताउँछन् । ‘कतिपय ठाउँमा प्रहरीका बाध्यता होला तर, सामाजिक संजालमा यस्ता भिडियो भाइरल हुँदा पक्कै पनि राम्रो सन्देश जाँदैन, यस विषयमा विभाग र फिल्डमा खटिने कर्मचारले गम्भीर बन्नु जरुरी छ’ , उनले भने । 

यस्तै प्रहरी प्रवक्ता दिनेश कुमार आचार्य प्रहरीबाट भएको दुव्र्यवहार संगठनको आचरण विपरित भएकाले यस्ता व्यक्तिमाथि कारबाही हुने बताउँछन् । यस विषयमा अहिले थप नबोल्ने बताउँदै उनले भने, ‘ संगठनको आचरण विपरित काम गर्नेलाई कारबाही हुन्छ ।’

स्वन्त्र रुपमा बाच्न पाउँने नागरिकको नैसर्गिक अधिकार भएपनि प्रहरीले बेला बेला आफ्नो दादागीरी शैली प्रस्तृत गर्दै आएको छ । प्रहरीको यस किसिमको हर्कतले संगठनप्रति जनताको विश्वास घटनुका साथै जो रक्षक उहीँ भक्षक भन्ने भाष्य निर्माण हुँदै गएको छ ।

आइतबार, १४ बैशाख २०८२, ११ : २०

प्रतिक्रिया