सर्लाही भन्सारमा राजस्व संकलन घट्यो

आइतबार, १४ बैशाख २०८२, ११ : २७

काठमाडौं- जिल्ला भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतसम्म राजस्व संंकलन घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को चैतसम्म कुल ४१ करोड ७४ लाख ३३ हजार ४३३ राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत ठाकुर आचार्यले जानकारी दिए । यस आवको नौ महिनामा चार महिनामात्र भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व संकलन गरेको छ । पाँच महिना लक्ष्यभन्दा कम राजस्व संकलन भएको उनले बताए ।

भन्सारबाट हाल संक्लन भएको राजस्व लक्ष्यको ९५.०४ प्रतिशतमात्र हो । आवको सुरु महिना साउनमा लक्ष्यको १११.०८ प्रतिशत अर्थात् चार करोड ९४ लाख ४१ हजार ५५५ संकलन भएको थियो । दोस्रो महिना भदौमा लक्ष्यको अत्यधिक कम ४३.७१ प्रतिशत अर्थात् दुई करोड १३ लाख ७५ हजार ६३८ मात्र राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ ।

यस्तै असोजमा लक्ष्यको ६७.२२ प्रतिशत अर्थात् दुई करोड ८० लाख ५३ हजार ८४५ राजस्व संकलन भएको छ भने कात्तिकमा ९०.९३ प्रतिशत चार करोड १८ लाख १७ हजार ६३१, मङ्सिरमा १२४.३१ प्रतिशत छ करोड ७२ लाख ४९ हजार २९४, पुसमा अहिलेसम्मकै धेरै १२७.३७ प्रतिशत अर्थात् रु छ करोड ७९ लाख नौ हजार ६०१ संकलन भएको कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांकअनुसार माघमा लक्ष्यको ११७.७५ प्रतिशत अर्थात् पाँच करोड ९३ लाख ४६ हजार ८२८, फागुनमा ९२.५८ प्रतिशत अर्थात् चार करोड ९३ लाख २९ हजार र चैतमा लक्ष्यको ७१.७८ प्रतिशत अर्थात् तीन करोड ६५ लाख ७१ हजार ५१० राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए । यस वर्ष तरकारी आयात गत वर्षको भन्दा कम भएकाले राजस्व संकलन लक्ष्यअनुसार हुन नसकेको उनले बताए ।

यस भन्सार कार्यालयबाट प्लाइ निर्यात हुने गरेको छ भने प्लाइ उद्योगका लागि आवश्यक सामग्री, थोरै मात्रामा धान, तरकारीलगायत सामान आयात हुँदै आएको छ । -रासस

आइतबार, १४ बैशाख २०८२, ११ : २७

प्रतिक्रिया