काठमाडौं- पोखराको फेवाताल किनारमा ‘ऊनको स्वीटर साँझ पोखरा विथ सुजन चापागाईँ’ सांगीतिक कार्यक्रम सम्पन्न भएको छ ।
वैशाख २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘ऊनको स्वीटर’का कलाकारहरू प्रचार–प्रसारका क्रममा यो कार्यक्रम गरिएको हो ।
स्थानीय हल्लनचोकमा आयोजित कार्यक्रममा चापागाईँले दर्शकबिच फिल्मका गीतहरू ‘मखमली’, ‘काफ्ले’, ‘फूल’ लगायतका प्रत्यक्ष गाए । कार्यक्रममा झलकमानको परिवार र सारंगी पाठशालालाई सम्मानसमेत गरिएको थियो । कार्यक्रममा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, नव–कलाकार एलेक्स पारस, कलाकार माओत्से गुरुङ, निर्देशक नवीन चौहान, कार्यकारी निर्माता मिलन खत्री लगायतको पनि सहभागिता थियो ।
कार्यक्रममा फिल्मका तीन नयाँ पोस्टरहरू समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा फिल्मका कलाकार एलेक्स र परीक्षाले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाईँ’को अर्को कार्यक्रममा वैशाख १८ गते धरानमा हुँदैछ । ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक फिल्म भएको बताइएको छ ।
प्रतिक्रिया