काठमाडौं- अर्थ मन्त्रालयले देशको अर्थतन्त्रले गति लिएको बताएको छ। मन्त्रालयले आज आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको अर्थ बुलेटिनमार्फत यस्तो निष्कर्ष निकालेको हो । उक्त अर्थ बुलेटिनमा बाह्य सूचकहरू सबल र सुदृढ रहँदा आन्तरिक सूचकहरूमा समेत क्रमिक सुधार देखिएको उल्लेख गरिएको छ।
बुलेटिनमा भनिएको छ, “समग्रमा अर्थतन्त्रले गति लिएको छ।” मन्त्रालयले आर्थिक गतिविधिहरूमा सकारात्मक संकेतहरू देखिएको बताउँदै राजस्व परिचालनमा वृद्धि, पूँजीगत खर्चमा सुधार, करको दायरा विस्तार, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सूचकांकमा सुधार, निर्यात तथा आयातमा वृद्धि भएको जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार राजस्व संकलन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेको छ भने पूँजीगत खर्च समेत लक्ष्यअनुसार अघि बढिरहेको छ। करको दायरा विस्तार भएसँगै आन्तरिक आम्दानीमा समेत वृद्धि देखिएको छ। यस्तै, वैदेशिक सहायता प्रतिबद्धता बढ्नुले विकास परियोजनाहरूमा थप लगानीको वातावरण तयार भएको मन्त्रालयले जनाएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक समेत अघिल्ला महिनाहरूको तुलनामा सुधारिएको देखिएको छ। निर्यात र आयात दुबै क्षेत्रमा सकारात्मक वृद्धि भएपछि व्यापारिक गतिविधि पनि विस्तार हुँदै गएको मन्त्रालयको ठहर छ।
मन्त्रालयले जारी गरेको बुलेटिनमा समग्र सूचकहरूले अर्थतन्त्र सुधारको संकेत गरेको र आगामी दिनमा अझ सशक्त प्रगति हुने अपेक्षा गरिएको उल्लेख छ।
प्रतिक्रिया